भारतमै रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता, नेपाली राजनीतिमा चासो

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। राजदूत गोर अमेरिकाका तर्फबाट दक्षिण एसियाका लागि विशेष दूतसमेत हुन्।
नेपाली राजनीतिमा यस भेटलाई निकै चासोका साथ हेरिएको छ। भारत भ्रमणमा रहेका कुनै पनि नेपाली नेतालाई भारतका लागि अमेरिकी राजदूतले भेट गरेको यो पहिलो अवसर हो। यसअघि केही समयअघि नेपाल भ्रमणका क्रममा पनि उनले सभापति लामिछानेसँग भेटवार्ता गरेका थिए। त्यतिबेला सगरमाथा आधार शिविरमा ड्रोन परीक्षण गरी उनी भारत फर्किएका थिए, तर प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेट गर्न पाएका थिएनन्।
भेटका क्रममा नेपाल र अमेरिकाबीचको साझेदारीलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको बताइएको छ। अमेरिकी पक्षले नेपालसँगको मित्रतालाई उच्च महत्त्व दिएको उल्लेख गर्दै राजदूत गोरले दुवै देशको समृद्धि र अवसर अभिवृद्धिका लागि साझा प्राथमिकताका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटवार्ताका क्रममा आर्थिक विकास, लोकतान्त्रिक मूल्यको प्रवर्द्धन तथा पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ। अमेरिका र नेपालबीचको दीर्घकालीन मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा दुवै पक्ष सकारात्मक रहेको बताइएको छ।





