२२ जेष्ठ २०८३, शुक्रबार

लुपर किराको प्रकोप र निर्यात अवरोधले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादन ५० प्रतिशतले गिरावटको अनुमान

सुरुङ्गा (झापा) । प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनः सङ्कटमा परेको छ। गत वर्षदेखि देखिन थालेको यो किराको सङ्क्रमण यस वर्ष झनै व्यापक भएपछि किसान, बगान सञ्चालक र उद्योगी चिन्तित भएका छन्।

विशेषगरी हल्दीबारी गाउँपालिका, भद्रपुर नगरपालिका तथा आसपासका चिया उत्पादन क्षेत्रका बगानमा लुपर किराको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ। किराले चियाका कोमल तथा हरिया पात मात्र नभई बोटको वृद्धि प्रणालीमै असर पुर्याउन थालेपछि उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिएको छ। चिया व्यवसायीका अनुसार यस वर्ष झापाका धेरै बगानमा ५० प्रतिशतभन्दा बढी क्षति पुगेको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले समयमै नियन्त्रण गर्न नसकिए चिया उद्योगको उत्पादन चक्र नै प्रभावित हुने अवस्था देखिएको बताए। भद्रपुर–७ का चिया व्यवसायी शुक्र ढकालका अनुसार किसानबाट पर्याप्त मात्रामा हरियो पत्ती प्राप्त हुन नसकेपछि केही चिया प्रशोधन उद्योगले उत्पादन घटाएका छन् भने कतिपय उद्योग बन्द हुने अवस्थासम्म पुगेका छन्।

किसान यस वर्षको पहिलो टिपाइदेखि नै राम्रो उत्पादनको आशामा थिए। पर्याप्त वर्षा भएकाले उत्पादन बढ्ने र आम्दानीमा सुधार आउने अपेक्षा गरिएको थियो। तर, दोस्रो टिपाइ सुरु भएसँगै लुपर किराको प्रकोप व्यापक रूपमा फैलिँदा आशा निराशामा परिणत भएको छ।

झापालाई नेपाली चियाको राजधानीका रूपमा चिनिन्छ। जिल्लाका बिर्तामोड, अर्जुनधारा, हल्दीबारी, भद्रपुर, कचनकबल, बाह्रदसी, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हजारौं हेक्टर जमिनमा चियाखेती भइरहेको छ। ठूला बगानसँगै ससाना किसान पनि चियाखेतीमा आबद्ध छन्। चियाखेतीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौं श्रमिक, किसान तथा व्यवसायीको जीविकोपार्जन धानेको छ। विशेषगरी महिलाको रोजगारीको महत्त्वपूर्ण आधार चिया क्षेत्र नै हो।

कृषि प्राविधिकका अनुसार लुपर किराले चियाका कोमल पात खाएर बोटको प्रकाश संश्लेषण प्रक्रिया कमजोर बनाउँछ। पातमा रहेको हरितकण नष्ट हुँदा बोटको वृद्धि रोकिन्छ र दीर्घकालीन रूपमा बोट नै सुक्ने जोखिम बढ्छ। सामान्य अवस्थामा असार र साउन महिना हरियो पत्ती उत्पादनका दृष्टिले सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। तर, यस वर्ष वैशाख–जेठदेखि नै सक्रिय भएको लुपर किराले उत्पादनको आधारभूत संरचनामै क्षति पुर्याएको किसानको गुनासो छ।

उत्पादनसँगै निर्यात पक्ष पनि सङ्कटमा परेको छ। नेपाली चियाको प्रमुख बजार भारततर्फको निर्यात पुनः प्रभावित भएको छ। भारतीय पक्षले गुणस्तर परीक्षण प्रक्रियामा कडाइ गरेपछि एक सातायता चिया निकासी प्रभावित भएको हो।

भारतको चिया बोर्डले नेपालबाट निर्यात हुने चियामा अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था लागू गरेपछि गत वैशाख १८ गतेदेखि करिब २१ दिनसम्म चिया निकासी अवरुद्ध भएको थियो। पछि भारतीय पक्षले प्रत्येक खेपको परीक्षण नगरी नमुनाका आधारमा मात्र परीक्षण गर्ने व्यवस्था लागू गरेपछि निर्यात पुनः सुरु भएको थियो। तर, अहिले भारतीय आयातकर्ताका गोदाममा पुगेका नेपाली चियाका प्रत्येक बोराबाट नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउने र प्रतिवेदन नआएसम्म बिक्रीवितरण नगर्न निर्देशन दिइएपछि व्यवसायीहरू पुनः समस्यामा परेका छन्।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले सीमावर्ती भन्सार नाकामा समस्या नरहे पनि भारतभित्र प्रवेश गरिसकेपछि चिया रोकिएको बताए। उनका अनुसार कोलकातास्थित आयातकर्ताका गोदाममा पुगेका नेपाली चियाका धेरै खेप परीक्षण प्रक्रियाका कारण रोकिएका छन्। हाल कोलकातामा करिब ५० हजार किलोग्राम नेपाली चिया रोकिएको छ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा वार्षिक करिब दुई करोड ६० लाख किलोग्राम चिया उत्पादन हुन्छ। उत्पादनमध्ये अधिकांश अर्थोडक्स चिया निर्यात हुने गरेको छ। नेपाली चियाको निर्यातमध्ये ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर रहेकाले त्यहाँको नीतिगत परिवर्तनले नेपाली किसान, उद्योगी र निर्यात व्यवसायीलाई प्रत्यक्ष असर गर्ने गरेको छ। नेपाली चिया भारत, जर्मनी, अमेरिका, जापान, चीन, बेलायत, फ्रान्स, नेदरल्यान्ड्सलगायत मुलुकमा निर्यात हुँदै आएको छ। तर, पछिल्ला वर्षमा निर्यात प्रक्रियामा देखिएका अवरोध, अन्तर्राष्ट्रिय बजारको प्रतिस्पर्धा, उत्पादन लागतमा वृद्धि, रासायनिक मलको अभाव तथा रोगकिराको समस्या चिया क्षेत्रका मुख्य चुनौतीका रूपमा देखिएका छन्।

लगातार दुई वर्ष रोगकिराको प्रकोप दोहोरिँदा चिया खेतीप्रतिको आकर्षण घट्न थालेको छ। उत्पादन घट्दै जाँदा निर्यात बजारमा नेपाली चियाको आपूर्ति निरन्तरता कायम राख्न कठिन हुने र अन्तर्राष्ट्रिय बजारमा एकपटक आपूर्ति कमजोर भए प्रतिस्पर्धी मुलुकले बजार ओगट्ने जोखिम रहने उद्योगीको भनाइ छ। झापाका सयौं परिवारको आर्थिक जीवन चियामै निर्भर रहेको र उत्पादन घट्दा किसानको आम्दानीमा सिधा असर पर्नुका साथै चिया उद्योगमा कार्यरत श्रमिकको रोजगारीसमेत प्रभावित हुने चिन्ता बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button