२२ जेष्ठ २०८३, शुक्रबार

छरुवा विधिबाट धान रोपाइँ, उत्पादन बढाउने अपेक्षा

दाङ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ दाङले सहभागीतामूलक सिकाइ केन्द्र कार्यक्रमअन्तर्गत छरुवा विधिबाट धान रोपाइँको प्रदर्शन गरेको छ। राप्ती गाउँपालिका–६ मझेरिया निवासी किसान श्यामदेव चौधरीको साढे दुई कट्ठा जग्गामा धानको बीउ छरेर रोपाइँ गरिएको हो। परम्परागत रोपाइँ विधिको विकल्पका रूपमा परीक्षण गरिएको यस विधिमा धानलाई लाइन मिलाएर लगाउने अभ्यास गरिएको छ।

कार्यक्रममा प्राविधिक, विद्यार्थी तथा स्थानीय कृषकको सहभागिता रहेको थियो। प्रदर्शनमार्फत धान खेतीमा आधुनिक प्रविधिको प्रयोगबारे जानकारी दिइएको थियो।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ दाङका प्रमुख कोमल शाहीका अनुसार परम्परागत धान रोपाइँ विधिमा सुधार गरी लागत घटाउने, श्रमशक्तिको आवश्यकता कम गर्ने तथा बालीलाई एकनासले हुर्काउन सहयोग पुग्ने भएकाले छरुवा विधि प्रभावकारी मानिएको छ। यस विधिबाट लगाइएको धान परम्परागत विधिको तुलनामा एक सातादेखि १० दिनसम्म छिटो पाक्ने र भित्र्याउन सकिने उनले बताए। शाहीले पानीको अभाव हुने तथा सिँचाइ सुविधा सीमित रहेका क्षेत्रमा पनि यो विधि उपयोगी हुन सक्ने उल्लेख गरे।

कार्यक्रममा नार्क प्रविधि गाउँका प्राविधिक कर्मचारी शिशिर अधिकारीले छरुवा विधिबाट धान उत्पादन वृद्धि गर्न सकिने बताए। उनले पानीको कमी हुने तथा सुख्खाग्रस्त क्षेत्रमा यो प्रविधि अझ प्रभावकारी देखिएको अनुभव सुनाउँदै यसको विस्तार आवश्यक रहेको धारणा राखे।

कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ पहिलो पटक अभ्यासका रूपमा उक्त प्रदर्शन गरिएको कार्यालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button