२२ जेष्ठ २०८३, शुक्रबार

पितृसत्ताको सोचले एकल महिलाप्रति व्यवहार परिवर्तन हुन सकेन : राज्यमन्त्री चेम्जोङ

विराटनगर — कोशी प्रदेशस्तरीय एक महिला कार्यशाला गोष्ठीको समापन गर्दै प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा पालुङ्गा चेम्जोङले पितृसत्तात्मक सोचकै कारण एकल महिलाप्रति समाजको दृष्टिकोण र व्यवहारमा अपेक्षित परिवर्तन आउन नसकेको बताएकी छन्।

बिहीबार सम्पन्न दुईदिने गोष्ठीमा राज्यमन्त्री चेम्जोङले एकल महिलाले भोग्दै आएका पीडालाई शक्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै अधिकार सुनिश्चितताका लागि संगठित भएर एकल महिला समाजमा अघि बढ्नुपर्ने बताइन्।

संविधानले महिलालाई ३३ प्रतिशत सहभागिताको अधिकार सुनिश्चित गरे पनि नीति निर्माण तहमा पुगेका महिलाले अर्थपूर्ण सहभागिता जनाउँदै एकल महिलाको आवाजलाई बलियो बनाउनुपर्ने उनको सुझाव छ।

कुर्बे बेस्टर्नको सहयोग तथा मानव अधिकारका लागि महिला, एकल महिला समूहको आयोजनामा भएको कार्यक्रममा मानव अधिकारका लागि महिला, एकल महिला समूह मोरङकी अध्यक्ष चुडाँकुमारी रेग्मीले एकल महिला, द्वन्द्व प्रभावित महिला तथा बेपत्ता परिवारका सदस्यको वर्तमान अवस्था, अधिकार तथा कानुनी व्यवस्थाबारे छलफल भएको जानकारी दिइन्। सहभागी महिलाको आवाज नीति तथा निर्णय तहसम्म पुर्याउने विषयमा समेत गोष्ठीले केन्द्रित रहेको उनले बताइन्।

त्यसैगरी, मानव अधिकारका लागि महिला, एकल महिला समूह कोशी प्रदेशकी अध्यक्ष मिनाकुमारी राईले दुईदिने प्रदेशस्तरीय गोष्ठीमा कोशी प्रदेशअन्तर्गतका सबै जिल्लाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको जानकारी दिइन्। उक्त कार्यक्रममा प्रदेशभरका ३५ जना महिलाको सहभागिता रहेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button