२२ जेष्ठ २०८३, शुक्रबार

रोजगारीको नाममा २९ लाख २० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ — रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई फ्रान्स, जर्जिया, माल्टालगायत देशमा रोजगारी पठाउने बहानामा लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा प्रहरीले कारबाही अघि बढाएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक शरत्कुमार थापाक्षेत्रीका अनुसार सिन्धुपाल्चोकको साँगाचोकगढी गाउँपालिका–२ की २६ वर्षीया निमा तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–६ का २४ वर्षीय विवेक साह पक्राउ परेका हुन्।

पक्राउ परेकामध्ये तामाङले फ्रान्स पठाउने भन्दै रु २२ लाख ८५ हजार र साहले जर्जिया तथा माल्टा पठाउने भन्दै रु ६ लाख ३५ हजार ठगी गरेको अनुसन्धानबाट खुलेको छ। दुवै जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनीहरूले लिएको रकमअनुसार विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दर्ता गराएका थिए। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता थापाक्षेत्रीले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button