सय दिन नपुग्दै पुरानै राजनीतिक विवादतर्फ देशको उन्मुखीकरण चिन्ताजनक : डा भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय दिन पनि नपुग्दै देशको राजनीति फेरि पुरानै विवाद र अवरोधतर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नयाँ पार्टीको नेतृत्वमा सरकार गठन भएको छोटो समयमै संसद् अवरुद्ध हुने, राजनीतिक द्वन्द्व बढ्ने र जनताका आधारभूत एजेन्डा ओझेलमा पर्ने संकेत देखिनुलाई विडम्बनापूर्ण बताए।
उनले अब कसैलाई पनि पुरानै अस्थिरताको राजनीति दोहोर्याउने र देशलाई गरिबी तथा बेरोजगारीको दुष्चक्रमा अल्झाइराख्ने छुट नरहेको उल्लेख गरेका छन्। सरकारका कमजोरी र त्रुटिको आलोचना गर्नुपर्ने भए पनि उसलाई पूरा कार्यकाल काम गर्ने अवसर दिनुपर्ने डा भट्टराईको धारणा छ।
लोकतान्त्रिक व्यवस्थामा सरकारको मूल्याङ्कन गर्ने अधिकार अन्ततः जनतासँग रहने भन्दै उनले सरकारले अपेक्षाअनुसार काम गर्न नसके आगामी निर्वाचनमार्फत जनताले दण्डित गर्न सक्ने बताएका छन्।





