२२ जेष्ठ २०८३, शुक्रबार

भोजपुरको मुन्दुम पदमार्गमा आठौँ मनसुन ट्रेल रेस हुँदै

भोजपुर — मुलुुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्गको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ आयोजना गरिने भएको छ।

आयोजक रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ राईले पत्रकार सम्मेलनमा यही जेठ २५ गते चखेवामा उक्त रेस सञ्चालन हुन लागेको जानकारी दिए। उनका अनुसार १८ किलोमिटरको यो दौड पुरुष तथा महिला खुला र ४० वर्ष माथिका महिला तथा पुरुष (भेट्रान) गरी ७५ जनाको सहभागिता रहनेछ।

मुन्दुम पदमार्ग सबै याममा भ्रमणयोग्य रहेको सन्देश दिनका लागि मनसुनका बेला पनि ट्रेल रेस आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए। रेस चखेवा, बेसक्याम्प, टेम्के, तावाभञ्ज्याङ हुँदै पाँचधासम्म सञ्चालन हुनेछ। यस्ता प्रतियोगिताले पदमार्गको पर्यटन प्रवर्द्धनसँगै साहसिक खेल पर्यटनलाई टेवा पुग्ने उनको विश्वास छ।

खुला पुरुष तथा महिला दुवैतर्फ प्रथमले रु २५ हजार, द्वितीयले रु १५ हजार र तृतीयले रु १० हजार पुरस्कार पाउनेछन्। चौथोदेखि सातौँ स्थानसम्मले क्रमशः रु दुई हजार, रु एक हजार ५००, रु एक हजार र रु ५०० प्राप्त गर्ने अध्यक्ष राईले जानकारी दिए।

भेट्रान पुरुष तथा महिलातर्फ प्रथमले रु १५ हजार, द्वितीयले रु १० हजार र तृतीयले रु पाँच हजार पुरस्कार ट्रफीसहित प्राप्त गर्नेछन्। मुन्दुम पदमार्ग पूर्वी नेपालको चर्चित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। यस क्षेत्रमा ट्रेल रेसलगायत विभिन्न खेलकुद गतिविधि हुँदै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button