फोहोरको पहाड हराउँदै, चीनमा ऊर्जा र हरियालीको नयाँ युग

चीनको दक्षिणी प्रान्त ग्वाङडोङको सेन्जेनमा एक समय ११० मिटर अग्लो फोहोरको पहाड थियो, जुन ३० तले भवनसरह थियो। आज त्यो कुरुप दृश्य हराइसकेको छ, जसको स्थानमा अत्याधुनिक डिजिटल उद्योग पार्क र हरियाली युक्त पारिस्थितिक उपत्यका बन्नेछ।
चीनले फोहोर व्यवस्थापनमा आमूल परिवर्तन गर्दै पुरानो फोहोरलाई ऊर्जा, सामग्री र अन्य उपयोगी वस्तुमा रूपान्तरण गरिरहेको छ। सेन्जेनको युलोङ ल्यान्डफिल, जुन सन् १९८३ देखि १९९७ सम्म सञ्चालनमा थियो र सन् २००५ मा बन्द गरिएको थियो, त्यसमा २५ लाख ५० हजार घनमिटर फोहोर थियो।
चीनको सबैभन्दा ठुलो ल्यान्डफिल उत्खनन परियोजना सन् २०२४ मा सुरु भएको थियो। दैनिक ६ हजार टन फोहोर उत्खनन गरी प्लाष्टिक र रबरजस्ता सामग्री नजिकैको इन्सिनरेटरमा पठाएर बिजुली उत्पादन गरिन्छ। यो आयोजना सन् २०२६ को अन्त्यसम्ममा पूरा भई करिब तीन लाख वर्गमिटर जमिन डिजिटल उद्योग क्लस्टर र पारिस्थितिक उपत्यकाका लागि मुक्त हुनेछ।
चीनको अधिकांश घरेलु फोहोर अब जलाएर ऊर्जा उत्पादन गरिन्छ। ग्वाङडोङको फोशान सहरमा रहेको इको–औद्योगिक पार्कले दैनिक ४ हजार ५०० टन फोहोर प्रशोधन गर्छ, जसले बिजुलीसँगै उच्च तापक्रमको भाप उत्पादन गरी नजिकैका कारखानामा पुर्याउँछ।
सन् २०२५ को नोभेम्बरसम्म चीनको सहरी घरेलु फोहोर प्रशोधन क्षमतामा जलाउने विधि ७८.१ प्रतिशत पुगेको छ। चीनले अहिले विश्वको करिब ६० प्रतिशत फोहोर जलाउने क्षमता ओगटेको छ, जुन युरोप, अमेरिका र जापानको संयुक्त क्षमताभन्दा धेरै हो।
ग्वाङजाउको फुशान सर्कुलर इकोनोमी इन्डस्ट्रियल पार्कमा फोहोर जलाउने प्लान्टको चिम्नीलाई १२० मिटर अग्लो टावरमा परिणत गरिएको छ, जहाँ आगन्तुकले कफी पिउँदै सो प्लान्टको मनोरम दृश्य अवलोकन गर्न सक्छन्।
विज्ञहरूका अनुसार चीनले १० वर्षमा उक्त उपलब्धि हासिल गरेको छ, जुन काम विकसित देशहरूले ३० वर्षमा गरेका थिए। १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) मा चीनको फोहोर प्रशोधन क्षेत्र हानिरहित विसर्जनबाट थप स्रोत पुनःप्राप्तितर्फ उन्मुख हुनेछ।





