चिनियाँ टोलीको DPA4 परमाणु मोडेल विश्वको पहिलो नम्बरमा

बेइजिङ डेलीका अनुसार चिनियाँ संस्थाहरूको संयुक्त अनुसन्धान टोलीले नयाँ पुस्ताको ठूलो परमाणु मोडेल DPA4 को स्तरोन्नति गरेको छ, जुन सामग्री पत्ता लगाउने अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिडरबोर्डमा समग्र प्रदर्शनका आधारमा पहिलो स्थानमा रहेको छ।
कृत्रिम बौद्धिकता (एआई) मा आधारित DPA ले परमाणुहरूको भौतिक गुण तथा अन्तरक्रिया व्यवहारको सिमुलेशन गर्दछ। यो मोडेल चार वर्षमा चार पुस्ताको स्तरोन्नति भएको हो।
DPA4 ले शीर्ष स्थान प्राप्त गरेको म्याटबेन्च डिस्कभरी, एआई संचालित अजैविक सामग्री पत्ता लगाउने क्षेत्रको प्रभावशाली गतिशील बेन्चमार्क हो, जसलाई सामग्री विज्ञानमा बौद्धिक मोडेलको प्रदर्शन मापनको अन्तर्राष्ट्रिय मापदण्डको रूपमा मान्यता दिइन्छ।
संयुक्त अनुसन्धान टोलीका प्रमुख सदस्य तथा पेकिङ विश्वविद्यालयका डक्टरेट विद्यार्थी ली तियानचेङका अनुसार DPA4 को मुख्य उपलब्धि अत्यन्त कम कम्प्युटेसनल लागतमा उच्च सटीकता हासिल गर्नु हो।
समान स्तरको सटीकतामा DPA4 को प्रशिक्षण दक्षता DPA3 को तुलनामा लगभग १० गुणा बढी रहेको छ। हाल DPA4 ले अजैविक क्रिस्टल र साना जैविक अणुहरू जस्ता क्षेत्रमा परमाणुहरू बीचको ऊर्जा परिवर्तन र बल अन्तरक्रियाको सिमुलेशन गर्न सक्षम छ।
यसको प्रयोग उत्प्रेरक, ब्याट्री सामग्री, अर्धचालक र औषधि अणुहरू सहित अनुसन्धानका विस्तृत क्षेत्रहरूमा फैलिएको छ। बेइजिङको AI फर साइन्स इन्स्टिच्युट (AISI), डीपी टेक्नोलोजी, पेकिङ विश्वविद्यालय र इन्स्टिच्युट अफ एप्लाइड फिजिक्स एण्ड कम्प्युटेशनल म्याथमेटिक्सका अनुसन्धानकर्ताहरूले विकास गरेको यो नयाँ मोडेलको प्रारम्भिक पहुँच संस्करण ओपन–सोर्स समुदायमा उपलब्ध गराइएको छ। टोलीले आधिकारिक ओपन–सोर्स संस्करण पछि जारी गरिने जनाएको छ।





