रवि लामिछानेले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नबीनलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन्।
भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले भारत भ्रमणका क्रममा दुवै नेतालाई नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गरे।
सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष दुवै नेपाल भ्रमणका लागि सकारात्मक रहेको बताए। उनले राजनीतिक दलहरूबीच एक–अर्काको देशमा भ्रमण र निमन्त्रणा आदानप्रदान गर्ने कार्य निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गरे।
लामिछानेले भने, “मैले यही भ्रमणका क्रममा भाजपा अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि निमन्त्रणा गरेको छु। उहाँहरूलाई नेपाल आउनका लागि निमन्त्रणा गरेको छु। आवश्यकताअनुसार विभिन्न राष्ट्रका राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गर्ने क्रम निरन्तर चलिरहन्छ।”
भारतमा रहेका नेपाली नागरिकहरूले भोग्दै आएका समस्याका विषयमा सोधिएको प्रश्नमा लामिछानेले त्यहाँस्थित नेपाली दूतावास र सम्बन्धित संयन्त्रलाई थप चुस्त बनाउनुपर्नेमा जोड दिए।
भारतमा रहेका नेपालीहरूको स्वास्थ्योपचार, कागजी प्रक्रिया र दैनिक जनजीवनसँग जोडिएका विविध समस्याहरूलाई सम्बोधन गर्न सरकारी संयन्त्रको क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको उनको भनाइ छ।





