बोराभित्रकाे शवको रहस्य खुल्यो, भारतीय नागरिक हत्याको आरोपमा पक्राउ

झापाको दमकमा गत जेठ १६ गेटा रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र फेला परेको महिलाको शवको रहस्य खुलेको छ। सो शव अन्दाजी २१ वर्षीया रोमा (रमा) तिवारीको भएको पहिचान भएको थियो।
दमक–८ बसन्त टोल निवासी मृतक युवतीको शव उनका पिता नारायण तिवारीले पहिचान गरेका थिए। घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला स्थायी घर भई हाल दमक–५ मा डेरा गरी बस्ने ३४ वर्षीय टाइल्स मिस्त्री राकेशकुमार पण्डित रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रहरी प्रदेश कार्यालय धरान र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले प्राविधिक विश्लेषण, सीसीटीभी फुटेजको अध्ययन र सूक्ष्म निगरानीबाट अभियुक्तको पहिचान गरेको हो।
प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले जेठ २१ गते राति अभियुक्त पण्डितलाई उनकै डेरा कोठाबाट नियन्त्रणमा लिएको थियो। प्रारम्भिक सोधपुछमा उनले मृतकसँग पैसाको विषयलाई लिएर विवाद भएको र सोही क्रममा हत्या गरेको स्वीकार गरेका छन्।
मृतककी आमा मुनादेवी तिवारीले घटनास्थल नजिकै फेला परेको एक जोर चप्पल आफ्नै छोरीको भएको पहिचान गरेकी छन्। प्रहरीले अभियुक्तको साथबाट घटनामा प्रयोग भएका प्रमाणहरू बरामद गरेको छ।
जसमा मृतकलाई भेट्न जाँदा र लिएर आउँदा प्रयोग गरिएको मे २ प ८२३ नम्बरको निलो होन्डा शाइन मोटरसाइकल, शव फाल्न प्रयोग गरिएको बीआर ३८ एएम ३७७८ नम्बरको रातो–कालो अपाचे मोटरसाइकल, अभियुक्तले घटनाका बेला लगाएका कपडा, तीन थान मोबाइल र मृतकको चप्पल रहेका छन्।
पक्राउ परेका पण्डितविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यानसम्बन्धी कसूर र जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरिएको छ। झापा जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिदिएको छ। हाल इलाका प्रहरी कार्यालय दमकमा थप विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।





