गृह मन्त्रालयले १८ सहसचिवको सरुवा तथा पदस्थापन गर्याे, १२ प्रमुख जिल्ला अधिकारी परिवर्तन

गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आज १२ जना प्रमुख जिल्ला अधिकारी र ६ जना सहसचिवलाई नयाँ जिम्मेवारी दिएको हो।
मन्त्रालयका अनुसार सहसचिव निराजन घिमिरेलाई स्याङ्जा, कुमानसिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ।
यस्तै, स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सङ्खुवासभा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रजिअ भविश्वर पाण्डेलाई पाल्पा, सुर्खेतका प्रजिअ जगदीश्वर उपाध्यायलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व), रामेछापका प्रजिअ श्यामकृष्ण थापालाई सप्तरी सरुवा गरिएको छ।
कास्कीका प्रजिअ रुद्रादेवी शर्मालाई धनकुटाको प्रमुख जिल्ला अधिकारी र सङ्खुवासभाका प्रजिअ सिर्जना थपलियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय काठमाडौँ सरुवा गरिएको छ।
ओखलढुङ्गाका प्रजिअ मेखबहादुर मङ्ग्रातीलाई उदयपुर, सप्तरीका प्रजिअ टुवराज पोखरेललाई ओखलढुङ्गा, धादिङका प्रजिअ विजयराज सुवेदीलाई सर्लाही, पाल्पाका प्रजिअ विनु बज्राचार्यलाई रामेछाप, उदयपुरका प्रजिअ धर्मराज जोशीलाई सुर्खेत र सर्लाहीका प्रजिअ रामुराज कडरियालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रजिअहरूको सरुवा तथा पदस्थापन नियमित प्रशासनिक प्रक्रिया भएको बताए। मन्त्रिपरिषद्को निर्णयबमोजिम रिक्त जिल्लामा पदपूर्ति गर्न र अवधि पूरा गरेका प्रजिअलाई अन्यत्र व्यवस्थापन गरिएको उनले स्पष्ट पारे।
मन्त्रालयले सहसचिव बलराम निरौलालाई अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा, सहसचिव प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा र सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पदस्थापन गरेको छ।





