नवप्रवर्तनमार्फत स्थानीय विकासमा कोशीको लगानी

कोशी प्रदेश सरकारले प्रदेशका विभिन्न छ स्थानीय तहमा नवप्रवर्धन साझेदारी परियोजनाअन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरका नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशअन्तर्गतको प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम र सम्बन्धित स्थानीय तहको साझेदारीमा यी कार्यक्रम अघि बढाइनेछ। प्रदेशका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलका अनुसार इलाम, धनकुटा, मोरङ, भोजपुर, खोटाङ र ओखलढुङ्गाका स्थानीय तहसँग कार्यक्रम सञ्चालनका लागि समझदारी भएको हो।
सम्झौताअनुसार इलामको रोङ गाउँपालिकामा ‘रोङ उद्यमशीलता र कृषि व्यवसाय संवर्द्धन परियोजना’ सञ्चालन हुनेछ। यस परियोजनाका लागि १ करोड ५० लाख रुपैयाँ खर्च हुने प्रमुख सचिव पौडेलले जानकारी दिए।
त्यस्तै, धनकुटा नगरपालिकामा ‘डिजिटल स्थानीय आर्थिक सर्वेक्षण र स्थानीय ई–मार्केटिङ परियोजना’ सञ्चालन गर्न १ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिकामा ‘सुशासनसहितको समृद्धिका लागि प्रविधि कार्यक्रम’का लागि १ करोड २६ लाख ७५ हजार रुपैयाँ बजेट छुट्याइएको छ।
भोजपुरको षडानन्द नगरपालिकामा प्रविधिमा आधारित शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। खोटाङको खोटेहाङ गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रमका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ भने ओखलढुङ्गाको लिखु पिके गाउँपालिकामा डिजिटल शिक्षा विकास तथा साक्षरता कार्यक्रम सञ्चालन गर्न ७७ लाख ६० हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
प्रदेश सरकारले स्थानीय आवश्यकतामा आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले यी कार्यक्रम अघि सारेको जनाएको छ। कार्यक्रममा उद्यमशीलता, कृषि व्यवसाय, डिजिटल अर्थतन्त्र, सुशासन, शिक्षा, स्वास्थ्य सेवा र डिजिटल साक्षरताजस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ।
सम्झौता कार्यक्रममा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रम कार्यान्वयनसँगै स्थानीय सेवा प्रवाह, आर्थिक गतिविधि र प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





