७ असार २०८३, आईतवार

मुगुका तीन शिक्षक कर्णाली प्रदेश सरकारद्वारा सम्मानित

सुर्खेत । मुगु जिल्लाका तीन जना शिक्षक कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय, सुर्खेतद्वारा उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएका छन्।

शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान, शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीहरूको सिकाइ उपलब्धिमा खेलेको भूमिकाको मूल्याङ्कन गर्दै जिल्लास्तरीय उत्कृष्ट शिक्षक छनोट कार्यक्रमअन्तर्गत उनीहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुनेमा श्री महाकाली नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकाया, श्री मालिका आधारभूत विद्यालयकी सहायक प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघकी अध्यक्ष विष्णुमाया भाम र श्री महादेव माध्यमिक विद्यालय हयाङ्लुका प्रधानाध्यापक नवराज कोइराला रहेका छन्।

शुक्रबार वीरेन्द्रनगर, सुर्खेतस्थित सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट छनोट भएका उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सम्मानित शिक्षकहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए।

शिक्षा विकास निर्देशनालयले उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकहरूलाई प्रत्येक वर्ष छनोट गरी सम्मान गर्दै आएको जनाएको छ। शिक्षण पेसालाई थप मर्यादित बनाउने, शिक्षकहरूको मनोबल उच्च राख्ने तथा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको निर्देशनालयले जनाएको छ।

सम्मान कार्यक्रमले विद्यालय तहमा समर्पित रूपमा अध्यापन गर्दै आएका शिक्षकहरूलाई थप जिम्मेवार र प्रेरित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button