राणा र प्रसाईंबीच नयाँ दल गठनका लागि ११ बुँदे सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ।
राणा र प्रसाईंले शुक्रबार नयाँ दल गठनका लागि ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सार्वजनिक गरिएको सहमतिपत्रमा मुलुकको भू–अखण्डता, सांस्कृतिक मौलिकता, धार्मिक स्वतन्त्रता र भाषिक विविधताको संरक्षणलाई प्रमुख आधार बनाइने उल्लेख गरिएको छ।
सहमतिपत्रमा ‘किराँत र बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य’ निर्माण गर्ने प्रतिज्ञा गरिएको छ। त्यस्तै, पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शनलाई राजनीतिक मार्गदर्शनका रूपमा अघि सार्ने उल्लेख छ।
दुवै पक्षले राष्ट्रिय स्वाभिमानसहितको सुधारमुखी संघीयता, प्रवासी नेपालीप्रति उदार नीति, ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मान्यता तथा दोहोरो नागरिकता राख्न पाउने व्यवस्थालाई नीतिगत विषयका रूपमा अघि बढाउने सहमति गरेका छन्।
राणा र प्रसाईंबीच भएको यो सहमतिलाई नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भिक आधारका रूपमा हेरिएको छ। सहमतिपत्रमा उल्लेखित विषयहरूलाई आगामी संगठनात्मक संरचना, नीति तथा कार्यक्रममार्फत थप स्पष्ट पारिने बताइएको छ।







