मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन गर्नुपर्छ : थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन र सिफारिसहरूको पूर्ण कार्यान्वयन हुनुपर्ने बताएका छन्।
आयोगले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन र सिफारिसका सन्दर्भमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विगतमा आयोगका सिफारिसहरू कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको र दोषीहरू दण्डित हुन नसकेको बताए।
उनले मानव अधिकारका सवालमा नेपाली कांग्रेसले दोहोरो मापदण्ड नअपनाउने स्पष्ट पारे। कांग्रेस नयाँ सोचका साथ अघि बढिरहेको उल्लेख गर्दै थापाले मानव अधिकार उल्लंघनका घटनामा संलग्न जोसुकै भए पनि कानुनी जवाफदेहिताबाट उम्किन नहुने धारणा राखे।
सभापति थापाले राष्ट्रिय मानव अधिकार आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि प्रश्न उठाएको प्रसंग उल्लेख गर्दै कार्की आयोगको प्रतिवेदन निष्पक्ष हुने विषयमा संशय व्यक्त गरे। उनले आयोगको प्रतिवेदन आम निर्वाचनअघि सार्वजनिक नहुनुको कारणबारे पनि प्रश्न उठाउँदै यस विषयमा थप बहस आवश्यक रहेको बताए।
उनले राज्य पक्षबाट बल प्रयोगका क्रममा सीमा उल्लंघन भएको र मानव अधिकारको गम्भीर हनन भएको विषयलाई सामान्य रूपमा लिन नहुने बताए। त्यस्ता घटनाहरू माफीयोग्य नहुने भन्दै थापाले कानुनअनुसार दोषीलाई दण्डित गर्नुपर्नेमा जोड दिए।
थापाले आवेग र उत्तेजनामा भएका कतिपय घटनालाई मानवीय दृष्टिबाट पनि हेर्नुपर्ने बताए। आन्दोलन तथा घटनाक्रमका क्रममा आफ्ना सन्तान गुमाएका आमाहरूको पीडा सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले पीडितलाई न्याय दिलाउने विषयलाई पार्टीले उच्च प्राथमिकतामा राख्ने बताए।
कार्यक्रममा थापाले मानव अधिकार आयोगका प्रतिवेदन र सिफारिस कार्यान्वयन राज्यको संवैधानिक तथा नैतिक जिम्मेवारी भएको उल्लेख गरे। उनले मानव अधिकार, न्याय र जवाफदेहिताका विषयमा राजनीतिक सुविधा वा असुविधाका आधारमा फरक व्यवहार गर्न नहुने धारणा राखे।





