पर्यटन बोर्डका पाँच सदस्यका लागि आवेदन आह्वान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा रिक्त पाँच सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट बायोडाटा माग गरेको हो। सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति जेठ २६ गते तोकिएको छ।
आवेदन नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको सचिवालय, भृकुटीमण्डपमा वा मन्त्रालयको आधिकारिक इमेलमार्फत पेस गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यसअघि नै मन्त्रालयको रोस्टर सूचीमा सूचीकृत भइसकेका व्यक्तिहरू यस पदका लागि स्वतः उम्मेदवार कायम हुनेछन्। त्यस्ता व्यक्तिहरूले पुनः बायोडाटा पेस गर्नुपर्ने छैन।
नेपाल पर्यटन बोर्डको कार्यकारी समिति पर्यटन क्षेत्रको नीति निर्माण, प्रवर्द्धन तथा संस्थागत निर्णय प्रक्रियामा महत्त्वपूर्ण निकाय मानिन्छ। समितिका रिक्त पद लामो समयदेखि पूर्ति नहुँदा बोर्डका केही आन्तरिक निर्णय प्रक्रिया प्रभावित हुँदै आएका थिए।
रिक्त पदमा सदस्य नियुक्तिका लागि आवेदन आह्वान भएसँगै बोर्डको कार्यसम्पादन र निर्णय प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको छ।





