७ असार २०८३, आईतवार

वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वका लागि पाण्डे समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वका लागि हरिप्रसाद पाण्डे नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ। स्वतन्त्र व्यवसायीका तर्फबाट पाण्डे समूहले शुक्रबार आफ्नो प्यानल घोषणा गरेको हो।

संघका तत्कालीन अध्यक्ष भुवनसिंह गुरुङ नेतृत्वको बहुमत पदाधिकारीले राजीनामा दिएपछि संघको विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष साधारणसभा गर्न पत्राचार गरेको थियो। त्यसविरुद्ध गुरुङ पक्ष पुनरावेदन अदालत पुगे पनि अदालतले उनीहरूको मागअनुसार अन्तरिम आदेश दिएन।

उम्मेदवारी घोषणासभामा अध्यक्षका उम्मेदवार पाण्डेले वैदेशिक रोजगार व्यवसायमा देखिएको बेथिति अन्त्य गर्न लागत शुल्कलाई पारदर्शी बनाउनुपर्ने बताए। उनले अहिलेको नीतिगत व्यवस्थाले व्यवसायलाई थप अव्यवस्थित बनाएको भन्दै वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन स्पष्ट लागत शुल्क निर्धारण आवश्यक रहेको धारणा राखे।

“वैदेशिक रोजगार व्यवसायीलाई हेर्ने नीतिले झन् बेथिति बढाइरहेको छ। यही अवस्थामै वैदेशिक रोजगार क्षेत्र अघि बढ्न सक्दैन,” पाण्डेले भने, “व्यवसायीलाई काम गर्न पारदर्शी लागत शुल्क निर्धारण हुनुपर्छ। त्यसका लागि हाम्रो समूह प्रतिबद्ध रूपमा काम गर्नेछ।”

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्षसमेत रहेका पाण्डेले आफ्नो नेतृत्वमा निर्वाचित कार्यसमितिले पारदर्शी शुल्क प्रणाली स्थापित गर्न पहल गर्ने बताए।

पाण्डे समूहबाट प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, महासचिवमा नुरप्रसाद मिया, सचिवमा नवराज लुइँटेल र कोषाध्यक्षमा विनिता कटुवालको उम्मेदवारी घोषणा गरिएको छ। अन्य पदका उम्मेदवारहरू भने घोषणा हुन बाँकी रहेको समूहले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button