७ असार २०८३, आईतवार

दिल्ली पुगेलगत्तै परराष्ट्रमन्त्री खनालको कूटनीतिक भेटवार्ता सुरु

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्ली पुगेलगत्तै कूटनीतिक भेटवार्ता सुरु गरेका छन्।

भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा गएका मन्त्री खनालले शुक्रबार पहिलो भेट भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेका हुन्। स्रोतका अनुसार खनाल र डोभालबीच अपराह्न ५ बजेपछि प्रधानमन्त्री कार्यालयसमेत रहेको ‘सेवा तीर्थ’ भवनमा भेटवार्ता भएको थियो।

दिल्लीस्थित ताज महल होटलमा बसेका मन्त्री खनाल त्यहीँबाट भेटवार्ताका लागि सेवा तीर्थ पुगेका थिए। खनालको भ्रमणलाई नेपाल–भारतबीच उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवाद अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।

यसअघि भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेका रास्वपा सभापति रवि लामिछाने पनि सोही होटलमा बसेका थिए। पाँचदिने भ्रमण पूरा गरी काठमाडौं फर्किंदै गरेका लामिछाने र दिल्ली पुगेका मन्त्री खनालबीच इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ‘सेरोमोनियल लाउन्ज’मा केहीबेर भेटवार्ता भएको थियो। खनाल दिल्ली पुगेको नेपाल एयरलाइन्सको विमानबाटै लामिछाने काठमाडौं फर्किएका थिए।

मन्त्री खनालले शनिबार भारतीय समकक्षी एस. जयशंकरसँग द्विपक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय बैठक गर्ने कार्यक्रम छ। भेटवार्तामा दुई देशबीचका आपसी चासो, विकास सहकार्य, आर्थिक साझेदारी, व्यापार, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट गर्ने सम्भावना रहेको बताइएको छ। नयाँ सरकार गठनपछि नेपालबाट भारततर्फ भएको यो उच्चस्तरीय मन्त्रीस्तरीय भ्रमणलाई द्विपक्षीय सम्बन्धलाई थप सक्रिय बनाउने अवसरका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button