प्रधानमन्त्रीलाई सन्देश पठाएपछि सचिव पुष्कर प्रहरी कार्यालय पुर्याइए

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्णले प्रधानमन्त्री वालेन्द्र शाहलाई सन्देश पठाएको विषयमा प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
सचिवको पाँचवर्षे पदावधि पूरा गरी आगामी असार २४ गते अवकाशमा जान लागेका पुष्करले केही दिनदेखि प्रधानमन्त्री शाहलाई भेट्ने प्रयास गर्दै आएका थिए। तर भेटको समय नपाएपछि उनले बिहीबार बिहान प्रधानमन्त्रीको मोबाइल नम्बरमा सन्देश पठाएका थिए।
पुष्करले पठाएको सन्देशमा आफ्नो सेवा अवधि सकिन लागेको, मुख्य सचिव बन्ने सम्भावना नरहेको र राजदूत पदका लागि प्रकाशित सूचनाबारे प्रधानमन्त्रीको जानकारी, मार्गदर्शन र सहयोग अपेक्षा गरिएको उल्लेख थियो। सन्देशमा उनले आफ्नो स्थायी ठेगाना जलेश्वर–४, सुगा, महोत्तरीसमेत उल्लेख गरेका थिए।
सन्देश पठाएपछि उनी नियमित कामका लागि लैनचौरस्थित उपराष्ट्रपति कार्यालय पुगेका थिए। दिनभर सन्देशको कुनै जवाफ नआए पनि बेलुकी उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली उनको निवास पुगेको थियो। प्रहरीले केही सोधपुछ गर्नुपर्ने भन्दै उनलाई टेकुस्थित कार्यालय लगेको थियो।
प्रहरीले सचिव पुष्करलाई नियन्त्रणमा लिए पनि प्रधानमन्त्रीलाई सन्देश पठाएको आधारमा मुद्दा चलाउने स्पष्ट कानुनी आधार नदेखिएपछि बिहीबार राति अबेर उनकी पत्नी आभा श्रेष्ठको जिम्मा लगाएर छाडिएको थियो। बहालवाला सचिवलाई मोबाइल सन्देशकै आधारमा प्रहरी कार्यालय पुर्याइएको घटनाले निजामती प्रशासन वृत्तमा तरंग ल्याएको छ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेलले विगतमा प्रधानमन्त्रीहरूले मन्त्रालयका सचिवहरूलाई समस्या परे सम्पर्क गर्न सकिने वातावरण दिने गरेको बताए। उनका अनुसार यदि प्रधानमन्त्री कार्यालयले सिधै सम्पर्क नगर्न निर्देशन दिएको थिएन भने सन्देशकै आधारमा प्रहरीको प्रयोग गर्नु उचित नहुने उनको भनाइ छ।
पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीले पनि सचिवले सन्देश पठाएको विषयलाई आपराधिक कसुरका रूपमा हेर्न नहुने बताए। उनका अनुसार यस्तो विषय अनुशासनसँग सम्बन्धित भए निजामती सेवा ऐन र प्रशासनिक प्रक्रियामार्फत हेर्न सकिने भए पनि प्रहरी प्रयोग गर्नु उपयुक्त होइन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सन्देश पाएपछि सचिवालयसँग परामर्श गरेका थिए। कार्यालयका एक अधिकारीले सचिवले प्रशासनिक मर्यादा र ‘चेन अफ कमान्ड’ मिचेर सिधै सन्देश पठाएको विषयलाई गम्भीर रूपमा लिइएको बताए।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमार्फत उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सचिव पुष्करमाथि सोधपुछ गर्न भनिएको स्रोतले जनाएको छ। त्यसपछि कार्यालयका एसएसपी सन्तोष खड्काले प्रहरी टोली खटाएका थिए।
पुष्कर आठ महिनाअघि मुख्य सचिव बन्ने दौडमा रहेका सचिवहरूमध्ये एक थिए। तर तत्कालीन सरकारले सुमनराज अर्याललाई मुख्य सचिव नियुक्त गरेको थियो। सचिव पदको पाँचवर्षे अवधि पूरा भएपछि पुष्कर आगामी असार २४ गते अवकाशमा जाँदै छन्।
यो घटनाले राजनीतिक नेतृत्व र उच्च प्रशासनिक कर्मचारीबीचको संवाद, प्रशासनिक मर्यादा, शक्ति प्रयोग र निजामती सेवा प्रक्रियाबारे बहस उठाएको छ।





