“इपिजी साँचो हस्तान्तरण : ऐतिहासिक दस्तावेजको जिम्मेवारी मन्त्री खनाललाई”

काठमाडौं। नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) का नेपालतर्फका पूर्वसंयोजक डा. भेषबहादुर थापाले दुई देशका विज्ञहरूले सहमति जनाई हस्ताक्षर गरेको प्रतिवेदन तथा अन्य महत्वपूर्ण कागजात रहेको दराजको साँचो परराष्ट्रमन्त्री शिशिर खनाललाई बुझाएका छन्। परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान गर्नुभन्दा केही अघि मन्त्रालयमा आयोजित एक कार्यक्रममा डा. थापाले उक्त साँचो हस्तान्तरण गरेका हुन्। सो अवसरमा परराष्ट्रसचिव अमृतकुमार राई पनि उपस्थित थिए।
डा. थापाले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएकाले महत्वपूर्ण दस्तावेजको स्वामित्व परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरेको जनाएको छ। विसं २०७३ असार २० मा गठन भएको इपिजीले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिसहित दुई देशबीचका सम्पूर्ण सन्धि–सम्झौताको पुनरावलोकन गरी द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने उद्देश्यले अध्ययन गरेको थियो। दुवै देशका विज्ञ सदस्य रहेको समूहले संयुक्त प्रतिवेदन तयार पारे पनि भारतले बुझ्न अनिच्छा देखाएकाले प्रतिवेदन कार्यान्वयन हुन नसकेको हो।
नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) का नेपाल तर्फ डा. भेषबहादुर थापा (संयोजक), नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई तथा भारत तर्फ भगतसिंह कोसियारी (संयोजक), जयन्तप्रसाद, प्रा. महेन्द्र पी. लामा र बीसी उप्रेती सदस्य थिए। दुवै सरकारले औपचारिक रूपमा नबुझे पनि नेपालले अनौपचारिक रूपमा परराष्ट्रमन्त्री खनालमार्फत उक्त प्रतिवेदन बुझेको छ। मन्त्री खनालको भारत भ्रमण तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणपछि स्वदेश फर्किएको सन्दर्भमा साँचो हस्तान्तरण अर्थपूर्ण मानिएको छ।





