ब्राजिलका प्रहरी प्रमुखद्वारा ब्राजिली आपराधिक समूहलाई आतङ्ककारी सङ्गठन घोषणा गर्ने अमेरिकी निर्णयप्रति असहमति

ब्रासिलिया । ब्राजिलका सङ्घीय प्रहरी प्रमुख एन्ड्रेई रोड्रिगेसले दुई प्रमुख ब्राजिली आपराधिक गिरोहलाई आतङ्ककारी सङ्गठनको सूचीमा राख्ने अमेरिकी निर्णयको विरोध गरेका छन्। उनले यस निर्णयले सङ्गठित अपराध र आतङ्कवादबीच भ्रम सिर्जना गर्ने बताएका छन्।
अमेरिकी विदेश मन्त्रालयले मे महिनामा फस्ट क्यापिटल कमान्ड (पीसीसी) र कोमान्डो भर्मेल्हो (सीभी) लाई आतङ्ककारी सङ्गठनको रूपमा सूचीकृत गरेको थियो। उक्त निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको छ।
‘त्यो वर्गीकरण गल्ती हो,’ ब्राजिलका सङ्घीय प्रहरी महानिर्देशक रोड्रिगेसले टिभी ग्लोबोसँग भने। उनले आतङ्ककारी समूहहरू वैचारिक वा धार्मिक लक्ष्यबाट प्रेरित हुने भन्दै आपराधिक गिरोहहरू नाफा खोज्ने प्रवृत्तिका हुने स्पष्ट पारे।
रोड्रिगेसले उक्त समूहविरुद्ध ब्राजिलको रणनीति भने परिवर्तन नहुने बताए। सङ्घीय प्रहरीले ती गिरोहको वित्त, नेतृत्व र सञ्चालनलाई निशाना बनाउने क्रम जारी राख्ने भन्दै उनले सूचना आदानप्रदान, हातहतियार तस्करी र ब्राजिलले खोजी गरिरहेका भगौडा अपराधीका विषयमा वासिङ्टनसँग थप सहकार्यको अपेक्षा गरे।
यो निर्णय ब्राजिल र अमेरिकाबीच बढ्दो तनावका बीच आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिली वस्तुमा थप लगाएको शुल्क र ब्राजिलको न्यायिक प्रणालीप्रति वासिङ्टनको आलोचनाका कारण पछिल्लो समय दुई देशबीच सम्बन्धमा चिसोपन देखिएको छ।





