नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान सरकार तत्पर : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताएका छन्।
भारतीय सञ्चारमाध्यम एनडिटिभीसँग शनिबार भएको विशेष संवादमा मन्त्री खनालले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, आर्थिक र जनस्तरको सम्बन्धलाई अझ प्रभावकारी सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको करिब चार वर्षमै जनचाहना र समर्थनका आधारमा सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै वर्तमान सरकारले छिमेकी मुलुकहरूसँग व्यावहारिक, पारस्परिक लाभमा आधारित र भविष्यउन्मुख कूटनीतिक सम्बन्ध अघि बढाउने बताए।
नेपाल र भारतबीच खुला सीमा भए पनि दुवै देशले एक–अर्काका सुरक्षा सरोकारलाई गम्भीरतापूर्वक बुझ्दै आएको मन्त्री खनालको भनाइ थियो। उनले दुई देशबीचको हार्दिक सम्बन्धलाई व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जालजस्ता क्षेत्रमा थप विस्तार गर्नुपर्ने बताए।
मौरिससमा भारतीय समकक्षी एस. जयशंकरसँग भएको भेटको प्रसंग उल्लेख गर्दै मन्त्री खनालले सम्भव भएका सबै क्षेत्रमा सहकार्य अघि बढाउनुपर्ने धारणा राखे। उनले नेपालको विकास यात्रामा भारतको सहयोग, लगानी र साझेदारी महत्वपूर्ण हुने बताए।
मन्त्री खनालले नेपालबाट बंगलादेशमा विद्युत् निर्यातका लागि भारतको सहयोग रहने विश्वास व्यक्त गरे। क्षेत्रीय ऊर्जा सहकार्यले नेपाल, भारत र बंगलादेशबीच आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने उनको भनाइ थियो।
“हामी विगतका कुरा बोकेर आएका छैनौँ। विगतमा दुई ठूला छिमेकी मुलुकबाट विकासको लाभ जति लिन सक्नुपर्थ्यो, त्यति लिन सकेनौँ,” मन्त्री खनालले भने, “अब पारस्परिक लाभ र सकारात्मक भविष्यका लागि कूटनीतिक सम्बन्ध प्रयोग गर्छौँ।”
उनले नेपाली जनताको जीवनस्तर सुधारका लागि सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने र बहुआयामिक साझेदारीलाई संस्थागत रूपमा अघि बढाउने सरकारको प्राथमिकता रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी र भारत सरकारबाट भएको स्वागतले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान सकारात्मक वातावरण सिर्जना गरेको मन्त्री खनालले बताए।
मन्त्री खनालले नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारका क्षेत्रमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने विश्वास पनि व्यक्त गरे।





