न्यू बागमती स्पोर्ट्स क्लबको अध्यक्षमा क्याप्टेन थापा चयन, नयाँ कार्यसमिति गठन

खजुरा — बाँकेको खजुरा गाउँपालिका–३ बागमती नगरस्थित न्यू बागमती स्पोर्ट्स क्लबले निवर्तमान अध्यक्ष सुरज चन्दको अध्यक्षतामा भएको भेलाबाट नयाँ कार्यसमिति चयन गरेको छ। क्लबको आगामी कार्यकालका लागि अध्यक्ष पदमा पूर्व भारतीय क्याप्टेन तीर्थराज थापा मगरलाई चयन गरिएको हो।
भेलाले पूर्व कार्यसमितिका पदाधिकारीहरूले क्लबको कागजातसहित सम्पूर्ण जिम्मेवारी नवगठित समितिलाई हस्तान्तरण गरेका छन्। उक्त कार्यक्रममा खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव छबिलाल बिष्ट, संस्थापक अध्यक्ष मनबहादुर राना मगर, क्लबका सल्लाहकार भक्त बी के सी, पूर्व वडाध्यक्ष कान्तुराम गौतम लगायत जनप्रतिनिधिहरू तथा खेलाडीहरूको सहभागिता रहेको थियो।

नवगठित समितिको महिला उपाध्यक्षमा नन्दी पुन मगर, पुरुष उपाध्यक्षमा विजय गुरुङ चयन भएका छन्। यस्तै, भेलाले सचिवमा सन्देश थापा, सहसचिवमा करन थापा र कोषाध्यक्षमा मनोज पुन मगरलाई चयन गरेको छ। क्लबका सदस्यहरूमा महेश बिष्ट, कल्पना तामाङ, सीता राना, लक्ष्मी थापा, गणेश खत्री, बलवीर थापा र प्रत्येक योगी चयन भएका छन्।

तीन वर्षे कार्यकाल रहेको नवगठित समितिले खेल गतिविधिलाई सक्रिय बनाउने, खेलाडी उत्पादन गर्ने, अन्य क्लबहरूसँग सहकार्य गर्ने, सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने, सरसफाइ तथा स्वास्थ्य गतिविधिहरूमा सक्रिय हुने र खेलमैदान उपलब्ध गराउन स्थानीय सरकारसँग पहल गर्ने लगायतका क्रियाकलाप गर्ने योजना बनाएको नवनिर्वाचित अध्यक्ष तीर्थराज थापा मगरले जानकारी दिए।
भेलाले नयाँ समिति चयन गर्नुका साथै विभिन्न गतिविधिहरूलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू समेत गठन गरेको छ। आर्थिक समितिको संयोजकमा पूर्णचन्द्र पोखरेल, खेलकुद समिति संयोजकमा भूपेन्द्र राना, दुर्व्यसन नियन्त्रण समिति संयोजकमा इन्द्रबहादुर बुढा, सांस्कृतिक संयोजकमा भीमसेन खड्का र सरसफाइ तथा स्वास्थ्य संयोजकमा मनोज पुन मगरलाई जिम्मेवारी तोकिएको छ। कार्यक्रमको सञ्चालन पूर्व प्र.अ. हरिप्रसाद उपाध्यायले गरेका थिए।





