राजदूत प्रसङ्गमा प्रधानमन्त्री शाहको व्यङ्ग्यात्मक स्टाटस चर्चामा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै लेखेको व्यङ्ग्यात्मक स्टाटस चर्चामा आएको छ।
शनिबार साँझ आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत प्रधानमन्त्री शाहले रोमन नेपालीमा लेखेका थिए, “मलाई पनि एम्बेसेडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न?” उनको यो स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।
प्रधानमन्त्री शाहले उक्त अभिव्यक्ति कुन प्रत्यक्ष सन्दर्भमा लेखेका हुन् भन्ने स्पष्ट रूपमा खुलाएका छैनन्। तर, उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री शाहलाई सन्देश पठाएको विषय बाहिरिएपछि सोही प्रसङ्गप्रति लक्षित व्यङ्ग्यका रूपमा धेरैले यसलाई अर्थ्याएका छन्। केही समाचार स्रोतहरूले पुष्करले प्रधानमन्त्रीलाई सिधै सन्देश पठाएको विषय प्रशासनिक मर्यादा र ‘चेन अफ कमान्ड’सँग जोडेर विवादमा परेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहको पोस्टमा शिक्षामन्त्री सस्मित पोखरेलले “म्यासेज गर्दिम?” भन्दै टिप्पणी गरेका छन्। त्यस्तै, भिक्टर पौडेलले “नाई फेरि उठाउन आउला पुलिस” भनेर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्। ती टिप्पणीहरूले पनि पोस्टको चर्चा थप बढाएको छ।
सामाजिक सञ्जालमा कतिपय प्रयोगकर्ताले प्रधानमन्त्रीको स्टाटसलाई सार्वजनिक पदमा रहेका व्यक्तिको असन्तुष्टि व्यक्त गर्ने नयाँ शैलीका रूपमा लिएका छन् भने कतिपयले सरकार प्रमुखबाट यस्तो व्यङ्ग्यात्मक अभिव्यक्ति आउनु जिम्मेवार आचरणसँग मेल नखाने टिप्पणी गरेका छन्।
राजदूत नियुक्ति, उच्च प्रशासनिक पद, मुख्यसचिव चयन र राजनीतिक पहुँचसँग जोडिएका विषयहरू संवेदनशील मानिन्छन्। त्यसैले सार्वजनिक पदमा रहेका उच्च अधिकारी र राजनीतिक नेतृत्वबीचको अनौपचारिक सम्पर्क तथा त्यसको सार्वजनिक प्रतिक्रियाले अहिले प्रशासनिक र राजनीतिक वृत्तमा बहस जन्माएको छ।
प्रधानमन्त्री शाहको पछिल्लो स्टाटसले राजदूत नियुक्ति प्रक्रियामा पारदर्शिता, प्रशासनिक मर्यादा र सार्वजनिक पदाधिकारीको सामाजिक सञ्जाल प्रयोगबारे नयाँ बहस सतहमा ल्याएको छ।





