रास्वपा बाँकेको अध्यक्षका लागि चार जना प्रतिस्पर्धी, एक नेता पार्टीबाट बाहिरिए

नेपालगन्ज — सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको अध्यक्षका लागि चार जना आकांक्षी अगाडि सरेका छन्। जिल्ला अधिवेशनमा हरपालसिंह केसी, विवेक श्रेष्ठ, विनोद अग्रहरी र आनन्दबाबु काफ्लेले जिल्ला अध्यक्ष पदका लागि दाबी पेस गरेका छन्।
चारै जनाबीच सर्वसम्मतिको प्रयास सफल नभएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको आकांक्षी विनोद अग्रहरीले जानकारी दिए। अधिवेशनमा दुई सयभन्दा बढी मतदाता रहेका छन्।
यसैबीच, अध्यक्षको उम्मेदवार हुन नपाएको भन्दै हिरालाल प्रसाईले राजीनामा दिएका छन्। प्रसाईले सामाजिक सञ्जालमार्फत आजैको मितिदेखि रास्वपा छाडेको घोषणा गरेका हुन्। उनले पार्टी त्यागको औपचारिक जानकारी गराउँदै अबदेखि आफू स्वतन्त्र भएको बताएका छन्।
जिल्ला अधिवेशनका मुख्य प्रतिस्पर्धीका रूपमा रहेका उक्त चारै जनाले आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रने बताइएको छ। नयाँ नेतृत्व चयनका लागि मतदानको प्रक्रिया अगाडि बढाइएको छ। रास्वपा बाँकेको नयाँ नेतृत्वले जिल्लामा पार्टी सङ्गठन विस्तार र आगामी चुनावी रणनीति तय गर्नेछ।





