७ असार २०८३, आईतवार

भ्रामक समाचार प्रकाशित गरेको भन्दै अर्थमन्त्री वाग्लेद्वारा प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध कपोलकल्पित र भ्रामक समाचार प्रकाशित गरिएको भन्दै एक दैनिक पत्रिकाविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन्।

अर्थमन्त्री वाग्लेले शुक्रबार प्रेस काउन्सिलमा निवेदन दिँदै आर्थिक दैनिक पत्रिकाले आफ्नो बारेमा आधारहीन र भ्रामक समाचार प्रकाशित गरेको आरोप लगाएका हुन्। उनले समाचारमा प्रयोग गरिएको शीर्षक र सामग्री पूर्ण रूपमा झुटो, काल्पनिक र तथ्यहीन रहेको दाबी गरेका छन्।

उक्त पत्रिकाले जेठ २२ गते ‘दुई अर्ब कमिशनमा अर्थमन्त्री वाग्ले फसेको आशंका’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सो समाचारप्रति आपत्ति जनाउँदै अर्थमन्त्री वाग्लेले यसले आफ्नो व्यक्तिगत प्रतिष्ठा, सार्वजनिक छवि र जिम्मेवार पदको मर्यादामा आघात पुर्‍याएको उल्लेख गरेका छन्।

वाग्लेले समाचार शतप्रतिशत झुटो र कल्पनामा आधारित भएको भन्दै त्यसबारे छानबिन गरी आवश्यक कारबाही गर्न प्रेस काउन्सिलसँग माग गरेका छन्। उनले पत्रकारिता तथ्य, प्रमाण र जिम्मेवारीमा आधारित हुनुपर्नेमा जोड दिँदै निराधार आरोपका आधारमा समाचार प्रकाशन गर्नु आचारसंहिताविपरीत हुने बताएका छन्।

प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता अनुगमन गर्ने निकाय हो। सार्वजनिक पदमा रहेका व्यक्तिबारे समाचार प्रकाशन गर्दा तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र सन्तुलित प्रस्तुति अनिवार्य मानिन्छ।

अर्थमन्त्री वाग्लेको उजुरीपछि काउन्सिलले सम्बन्धित पत्रिकासँग स्पष्टीकरण माग गर्ने वा आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button