फेवातालमा हुरीले समस्यामा परेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा महानगरपालिका–६ बैदामस्थित फेवातालमा बोटिङका क्रममा हुरीका कारण समस्यामा परेका १२ जना स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरिएको छ।
हिजो दिउँसो करिब ४ः३० बजे फेवातालमा अचानक हुरी चलेपछि तालको बीच भागमा सर्फेस बोट र प्याडल बोटमा रहेका पर्यटक समस्यामा परेका थिए। त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर मालेपाटनबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएकामध्ये तनहुँको दमौलीका २३ वर्षीय सुदीप बस्नेत, काठमाडौँका २४ वर्षीय सरोज सिम्खडा, १७ वर्षीय आयुष चौलागाईं, २१ वर्षीय सागर क्षेत्री, १९ वर्षीया विनिता श्रेष्ठ र २६ वर्षीय रुसाल चौधरी रहेका छन्।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–५ पर्स्याङकी २३ वर्षीया झरना गुरुङ, १२ वर्षीय क्रिस श्रेष्ठ, १६ वर्षीया सुदीक्षा पौडेल, १६ वर्षीय अङ्कल ढकाल, १५ वर्षीय प्रितम नेपाली र जापानबाट घुम्न आएकी ४८ वर्षीया एक महिलाको पनि उद्धार गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर मालेपाटनका प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहका अनुसार उद्धार गरिएका सबैको अवस्था सामान्य छ। उनका अनुसार पर्यटकहरू हुरीका कारण तालको बीच भागमा अघि बढ्न नसक्ने अवस्थामा पुगेका थिए।
घटनालगत्तै फेवातालमा स्थापना गरिएको ‘फेवा रेस्क्यू टावर’मा खटिएको सशस्त्र प्रहरीको १० सदस्यीय टोली उद्धारका लागि परिचालन भएको थियो। टोलीले समयमै उद्धार गरेपछि सम्भावित जोखिम टरेको प्रहरीले जनाएको छ।
फेवाताल पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो। आकस्मिक मौसम परिवर्तनका कारण ताल क्षेत्रमा बोटिङ गर्दा सुरक्षा सतर्कता अपनाउनुपर्ने आवश्यकता यस घटनाले फेरि देखाएको छ।





