२४ जेष्ठ २०८३, आईतवार

सत्तरी वर्षको मैत्री : नेपाल–रुस सम्बन्धको उज्यालो यात्रा


# प्रेम सागर पौडेल

हिमालको शिरबाट
जब शान्तिको सेतो उज्यालो झर्छ,
त्यही उज्यालोमा देखिन्छ
नेपाल र रुसबीचको मैत्रीको लामो बाटो।

सत्तरी वर्ष,
समयको किताबमा लेखिएको
केवल अङ्क होइन,
यो त विश्वासको अक्षर हो,
सम्बन्धको सुवास हो,
हृदयदेखि हृदयसम्म फैलिएको
सम्मानको न्यानो प्रकाश हो।

एकातिर सगरमाथाको गौरव,
अर्कातिर भोल्गाको गहिरो प्रवाह,
दुई फरक भूगोल,
तर एउटै भाव,
शान्ति, सहकार्य र मित्रताको
अटल विश्वास।

नेपालले जब विकासको सपना देख्यो,
रुसले सद्भावको हात बढायो,
शिक्षा, विज्ञान, प्रविधि र जनसम्बन्धका बाटामा
सहयोगको दीप बाल्यो।

कति नेपाली विद्यार्थीहरूले
रुसी भूमिमा ज्ञानका अक्षर टिपे,
कति सपनाहरूले
मस्कोका सडकहरूमा भविष्यको दिशा भेटे,
कति सम्झनाहरूले
दुई देशका जनतालाई
अझ नजिक बनाइरहे।

यो सम्बन्ध
न दबाबको भाषा हो,
न स्वार्थको व्यापार,
यो त सम्मानमा उभिएको कूटनीति हो,
समानतामा फुलेको सहकार्य हो,
र समयकाे परीक्षापछि अझ बलियो बनेको
विश्वासको आधार हो।

नेपाल सानो हुन सक्छ भूगोलमा,
तर यसको आत्मा विशाल छ,
रुस विशाल हुन सक्छ भूगोलमा,
तर मित्रताको अर्थमा
उसको हात अझ विशाल छ।

आज सत्तरीऔँ वर्षगाँठमा
इतिहासले हामीलाई भनिरहेको छ,
मैत्रीलाई केवल स्मरण नगर,
यसलाई नयाँ पुस्ताको सपनासँग जोड,
शिक्षासँग जोड,
संस्कृतिसँग जोड,
विज्ञान, पर्यटन, ऊर्जा र सहकार्यका
नयाँ क्षितिजसँग जोड।

विश्व बदलिँदैछ,
नयाँ शक्ति सन्तुलन जन्मिँदैछ,
तर साँचो मित्रता
कहिल्यै पुरानो हुँदैन।
त्यो समयसँगै झन गहिरो हुन्छ,
अनुभवसँगै झन परिपक्व हुन्छ,
र विश्वाससँगै
आगामी यात्राको मार्गदर्शक बन्छ।

नेपाल र रुस,
दुई देश, दुई सभ्यता,
तर मैत्रीको एउटै धुन,
शान्तिको एउटै चाहना,
र मानवताको साझा उज्यालो।

सत्तरी वर्षको यो यात्रा
भोलिका सय वर्षको आधार बनोस्,
जनता–जनताबीचको सम्बन्ध
अझ प्रगाढ बनोस्,
नेपाल–रुस मैत्री
सगरमाथाजस्तै अटल,
भोल्गाजस्तै गहिरो,
र बिहानको सूर्यजस्तै
सधैँ उज्यालो बनिरहोस्।

नेपाल–रुस मैत्री अमर रहोस्।
शान्ति, सहकार्य र सद्भावको यात्रा निरन्तर अघि बढिरहोस्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button