उर्लाबारीमा मलद्वारमा लुकाएर ल्याउँदै गरेको ब्राउन सुगरसहित दुई पक्राउ

मोरङ । उर्लाबारी नगरपालिका–७ गोलचोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।
प्रहरीले चालक उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ बस्ने २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको छ। चेकजाँचका क्रममा श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेको थियो।
त्यसैगरी, गुरुङको मलद्वारबाट प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध बरामद भएको छ। दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





