पूर्वी मधेशका गौरवका आयोजनाको मन्त्री लम्सालद्वारा स्थलगत निरीक्षण, अलपत्र पुलको निकासमा चासो

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वी मधेशको ‘लाइफलाइन’ मानिएका गौरवका आयोजनाहरूको प्रगति र गतिबारे जानकारी लिएका छन्। मन्त्री लम्साल नेतृत्वको उच्चस्तरीय टोलीले पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालित ठूला तथा रणनीतिक विकास आयोजनाको स्थलगत निरीक्षण एवं अनुगमन गरेको हो।
भ्रमणका क्रममा मन्त्री लम्सालको टोलीले काँकडभिट्टा–लौकही सडक आयोजनाका तीनवटै खण्ड र सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्मको करिब ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगतिको प्रत्यक्ष समीक्षा गरेको छ। साथै, टोलीले विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गतको कमला–कञ्चनपुर पुलको विशेष अवलोकन गर्दै यसको निकासका लागि चासो देखाएको छ।
निरीक्षणका क्रममा एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न महत्त्वपूर्ण पूर्वाधार परियोजनाको समेत अनुगमन गरिएको छ। यी आयोजना निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण, समन्वय तथा प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ। मन्त्री लम्सालको यो सक्रियतासँगै वर्षौंदेखि अलपत्र परेका योजनाले गति लिने र स्थानीय बासिन्दाको सास्ती हट्ने विश्वास गरिएको छ।





