६ असार २०८३, शनिबार

‘पुराना बोझ बोक्दैनौं’ भन्ने परराष्ट्रमन्त्रीको अभिव्यक्तिप्रति एमाले नेता रिजालको आपत्ति, स्पष्टीकरण माग

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको वार्तामा प्रयोग गरेको ‘पुराना बोझ बोक्दैनौं’ भन्ने वाक्यांशप्रति आपत्ति जनाउँदै सरकारसँग स्पष्टीकरण माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत नेता रिजालले नेपालले भारतसँगका कुन–कुन ऐतिहासिक मुद्दालाई ‘पुरानो बोझ’ ठहर गरेको हो भन्दै त्यसको परिभाषा माग गरेका हुन्। नेपाल र भारतबीच कूटनीतिक संवादमार्फत सुल्झाउनुपर्ने कैयौं विषय बाँकी रहेको उल्लेख गर्दै रिजालले ‘पुराना बोझ नबोक्ने’ नाममा थाँती रहेका द्विपक्षीय विषय अब नउठाउन खोजिएको त होइन भनी आशंका व्यक्त गरेका छन्।

रिजालले चारवटा गम्भीर प्रश्न उठाएका छन्— ‘कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको मिचिएको भूभागबारे वार्ता गर्ने प्रस्ताव र सन् १९५० को सन्धि पुनरावलोकन गर्ने लामो समयदेखिको प्रस्ताव ‘पुरानो बोझ’ हो? दुवै देशले गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको सर्वसम्मत प्रतिवेदन र ३० वर्षअघि हस्ताक्षर भएर हालसम्म कार्यान्वयन नभएको महाकाली सन्धि कार्यान्वयनको प्रस्ताव पुरानो बोझ हो?’

कूटनीतिमा शब्दहरूको प्रयोग राज्यको निरन्तरतासँग सम्बन्धित हुने भन्दै नेता रिजालले राष्ट्रिय सरोकारका यी गम्भीर विषयमा देशभित्र आवश्यक बहस हुनुपर्नेमा जोड दिएका छन्। परराष्ट्रमन्त्री खनाल हाल भारतको औपचारिक भ्रमणमा रहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button