आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुँदै, ६७ जिल्लामा महाधिवेशनअघि सम्पन्न गर्ने तयारी

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोशी प्रदेशका चार, मधेसका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुँदैछ।
आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिरहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ। जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको प्रमुख केसीले जानकारी दिए।
रास्वपाले शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। जसमा झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा, सुनसरी, महोत्तरी, रौतहट, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा नयाँ नेतृत्व चयन भइसकेको छ।
जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्त्वपूर्ण खुड्किलो भएको जनाउँदै आयोगले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालामा अनुरोध गरेको छ। विशेष साङ्गठनिक परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने यही जेठ २६ गते हुने पार्टीले जनाएको छ।
प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ। अन्य १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ। जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु हुनेछ भने प्रदेश अधिवेशन सञ्चालनका लागि सातै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरिएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुनेछ।





