सडक खन्दा मूल सुक्दा हुम्लाको ताँजाकोटमा खानेपानीको चरम सङ्कट, विद्यार्थी बिहानै ग्यालिन लिएर विद्यालय जान बाध्य

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिका–१ स्थित बौल्यानामा खानेपानीको चरम समस्या देखिएको छ। सडक निर्माणका क्रममा डोजर लगाउँदा पानीको मूल सुकेपछि स्थानीय बासिन्दा खानेपानीको सङ्कटमा परेका हुन्।
ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकले अहिले खानेपानीका लागि पुमखोला र काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ। ‘भैसेवाज गाउँमा विद्यालय जाने समयमा प्रत्येक विद्यार्थी हरेक दिन बिहान खाली ग्यालिन लिएर जान्छन् र साँझ विद्यालय बिदा हुनेबित्तिकै उक्त ग्यालिनमा पानी भरेर घर फर्किन्छन्,’ उनले भने।
उक्त विद्यालयमा अध्ययनरत लोकन्द्र खड्काले पढ्नुभन्दा बढी साँझ पानी बोक्नकै पिरलो बढी हुने गरेको बताए। ‘दिउँसो कक्षामा पनि साँझ पानीको ग्यालिन कसरी लैजाने र घरपरिवारलाई पानी कसरी खुवाउने होला भन्ने चिन्ताले सताइरहन्छ,’ उनले भने।
अग्लो डाँडामा रहेको उक्त बस्तीका बासिन्दाले पिउँदै आएको पानीको मुहान सुकेपछि समस्या उत्पन्न भएको हो। त्यहाँसम्म पानी ल्याउन अन्य कुनै मुहान नभएको वडाध्यक्ष मोहनलाल रिठालले बताए। उनका अनुसार यस वर्ष तीन लाख रुपैयाँ विनियोजन गरेर काँडागाउँमा खानेपानीको व्यवस्थापन गर्न खोजिए पनि उक्त बस्तीमा सम्भव नभएपछि अहिले आकाशे पानी सङ्कलन गर्ने योजना अघि बढाइएको छ। एक–एक हजार लिटरका ८० वटा ड्रम वितरण गरी आकाशे पानी सङ्कलन गर्ने योजना रहेको उनले जानकारी दिए।
‘यसले मात्र समस्या समाधान नहुने भएकाले तीनै तहका सरकारसँग दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छौं,’ वडाध्यक्ष रिठालले भने। स्थानीय मिलन खड्काले आफू केही समयअघि पानीको समस्या लिएर सङ्घीय खानेपानी मन्त्रालयसम्म धाएको बताए। मन्त्रीले कुनै पनि हालतमा व्यवस्था गर्छु भन्ने आश्वासन दिएको उनको भनाइ छ। यसकै लागि आफूले व्यक्तिगत ५० हजार रुपैयाँ खर्च गरेर सङ्घीय राजधानी पुगेको खड्काले जानकारी दिए। (रासस)





