१५ वर्षदेखि अलपत्र कमला पुलको निरीक्षणमा पुगेका मन्त्रीविरुद्ध स्थानीयको विरोध र नाराबाजी

सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुलको निरीक्षण गर्न पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल स्थानीयको विरोधमा परेका छन्। शनिबार पुलको निरीक्षणमा पुगेका उनलाई स्थानीयले १५ वर्षदेखि पुल अलपत्र पारिएको र अझै कहिले बन्ने एकिन नभएको भन्दै विरोध गरे। पुल निर्माण सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको भन्दै स्थानीयले उनीविरुद्ध नाराबाजीसमेत गरे।
स्थानीयले कहिले पुल बनिसक्छ भन्दै प्रश्न गर्दा मन्त्री लम्सालले प्रतिक्रिया दिन सकेका थिएनन्। पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाको अनुगमन गर्नेक्रममा मन्त्री लम्साल कमला पुलको अवलोकनमा पुगेका थिए। १५ वर्षको अवधिमा मन्त्री लम्सालसहित १८ जना मन्त्रीले पुलको निरीक्षण गरिसकेको र मन्त्री फेरिने तथा निरीक्षण हुने क्रम चलिरहे पनि निर्माणकार्य नभएको भन्दै स्थानीय आक्रोशित थिए। स्थानीयको विरोधपछि मन्त्री लम्सालले पुल निर्माणको काम अब कुनै बहानामा नरोकिने बताए।
४ सय ७० मिटर लामो यो पुल साढे तीन वर्षमै सक्ने गरी २०६८ मंसिरमा २४ करोड ९१ लाख रुपैयाँ लागतमा ठेक्का लागेको थियो। पप्पु–लुम्बिनी जेभीले पटक–पटक म्याद थप हुँदा पनि काम नगरेपछि २०७६ असोजदेखि लुम्बिनी बिल्डर्सलाई पुल निर्माणको जिम्मा दिइएको थियो। लुम्बिनी बिल्डर्सले काम सकेर उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार १७ गते बाढीले पुल भत्काएको थियो। त्यसपछि पुनः निर्माण कार्य चलिरहे पनि पूरा भइसकेको छैन। पुल नहुँदा सर्वसाधारण यात्रुले दैनिक सास्ती भोग्दै आएका छन्।





