१७ वर्षपछि प्रधानन्यायाधीशलाई सर्वोच्च बारको बिदाइ, राउतले भने – आफू नबेचिए कसैले किन्न सक्दैन

तत्कालीन प्रधानन्यायाधीश अनुपराज शर्माको सन् २०१० मा अवकाशपछि सर्वोच्च बार एशोसिएसनले कुनै पनि प्रधानन्यायाधीशलाई बिदाइ गरेको थिएन। तर १७ वर्षपछि गत चैतमा अवकाशप्राप्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बारले बिदाइ गरेको छ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको स्वागतसँगै सर्वोच्च बारले गत साता बार हलमा राउतको बिदाइ समारोह आयोजना गरेको थियो।
यसबीच अवकाशप्राप्त प्रधानन्यायाधीशहरू रामप्रसाद श्रेष्ठ, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठलाई बारले बिदाइ गरेन। तर नियुक्ति हुँदा उनीहरूलाई फूलमालाले स्वागत गरिएको थियो। विगतमा सर्वोच्च बारले आउनेलाई न्यानो स्वागत र जानेलाई सुखद् बिदाइ एकैसाथ गर्ने परम्परा थियो। तर बीचमा रामप्रसाद श्रेष्ठको समयदेखि उक्त क्रम भङ्ग भएको थियो।
कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश राउतले नेतृत्वमा निष्ठा र इमानदारिता भए न्यायमा सुधार सम्भव रहेको बताए। उनले भने, “आफू बेचिनु भएन, त्यसपछि कसैले किन्न पनि सक्दैन।” न्यायका दृष्टिले न्यायपालिका ठूलो भए पनि त्यसभन्दा ठूलो राष्ट्रियता र स्वाभिमान हुने उनको भनाइ थियो। उनले एक प्रसङ्गमा भने, “न्यायभन्दा पनि ठूलो राष्ट्रियता रहेछ, माटो रहेछ।” नवनियुक्त प्रधानन्यायाधीश डा. शर्मालाई बधाई दिँदै राउतले न्यायको गरिमा र प्रतिष्ठा नगिर्ने शुभकामना व्यक्त गरे।





