२४ जेष्ठ २०८३, आईतवार

धनगढी उपमहानगरद्वारा तीन वर्षमा नौ सय १७ विद्यार्थीलाई छात्रवृत्ति

धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत नौ सय १७ जनालाई छात्रवृत्ति प्रदान गरेको हो।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर तथा जेहेन्दार विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययनको अवसर उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०८१ यता छात्रवृत्ति दिइएको हो। आव २०८१ मा दुई सय ७६, आव २०८२ मा दुई सय ८३ र आव २०८३ मा तीन सय ५८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको महाशाखा प्रमुख नरेन्द्र खातीले जानकारी दिए। अघिल्लो वर्षको तुलनामा चालु वर्षमा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको उनले बताए।

यस अवधिमा विज्ञान सङ्कायतर्फ चार सय ७५, व्यवस्थापन सङ्कायतर्फ तीन सय ४३, होटल व्यवस्थापनतर्फ ५२, कानूनतर्फ २७, शिक्षातर्फ नौ र मानविकी सङ्कायतर्फ तीन जनालाई छात्रवृत्ति दिइएको छ। चालु आव २०८३ मा मात्रै विज्ञानतर्फ एक सय ७३, व्यवस्थापनतर्फ एक सय ३९, होटल व्यवस्थापनतर्फ २६, मानविकीतर्फ दुई, शिक्षातर्फ एक र कानूनतर्फ एक गरी तीन सय ५८ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ।

विगतमा प्रतिस्पर्धात्मक परीक्षामार्फत विद्यार्थी छनोट गरिँदै आएकोमा यस वर्ष एसइईमा प्राप्त नम्बरका आधारमा छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ। उपमहानगरपालिका प्रमुख गोपाल हमालले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरको समानता कायम गर्न मद्दत गरिरहेको बताउँदै आगामी वर्षहरूमा कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइने उल्लेख गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button