छानबिन समितिले सम्पत्तिबारे सोधेपछि गुरुङको ठट्यौली प्रतिप्रश्न – तपाईंको पनि छानबिन गरौँ न !

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नको छानबिनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार रहेको उल्लेख गरे। छानबिन प्रक्रियामा सहजीकरण गर्नैका लागि आफूले मन्त्री पदबाट राजीनामा दिएको समेत उनको दाबी छ।
छानबिनका क्रममा समितिले सम्पत्तिबारे कडा प्रश्न सोधेको बताउँदै उनले आफूले स्पष्ट जवाफ दिएको बताए। बयानका क्रममा भएको एउटा रोचक प्रसंग कोट्याउँदै गुरुङले भने, “समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?’ भनेर प्रश्न गर्यो। मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न’ भनेर प्रतिप्रश्न गरिदिएँ।” उनले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालय पुगिसकेको र आफूले पूर्ण सफाइ पाउनेमा आशावादी रहेको बताए।
आफू निर्दोष सावित भएपछि सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै उनले आग्रह गरे, “यदि सफाइ पाएर सरकारले पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही नआइदिनुहोला।” सम्बोधनका क्रममा गुरुङले रास्वपाको सङ्गठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीबारे समेत बोल्दै जिल्ला सभापति राजधानी केन्द्रित नहुनुपर्ने र नेतृत्वले जनतासँग निरन्तर सम्पर्कमा रहनुपर्नेमा जोड दिए।





