पूर्वराजदूत आचार्यको प्रश्न: सीमा मुद्दा नउठाइने हो भने भ्रमणको के अर्थ ?

नेपाल–भारत प्रबुद्ध समूहका सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले हालै दक्षिणी छिमेकीमा भएका दुई भ्रमणबारे गम्भीर प्रश्न उठाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको भारत भ्रमणका क्रममा नेपालका प्रमुख सीमा मुद्दा नउठाएको भन्दै उनले प्रश्न गरेका हुन्।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै आचार्यले यी दुई महत्वपूर्ण भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताए तर नेपालले निरन्तर उठाउँदै आएका लिम्पियाधुरा, कालापानी, लिपुलेक तथा सुस्तासम्बन्धी विषयमा कुनै सार्वजनिक चर्चा नभएको उल्लेख गरे। उनले लेखेका छन्, “यसरी भ्रमण हुनु राम्रो कुरा हो। रवि र परराष्ट्रमन्त्रीलाई मिलेको स्वागत सत्कार पनि सकारात्मक छ। तर नेपालले उठाउँदै गरेका र उठाउनै पर्ने विषय (लिम्पियाधुरा, कालापानी र लिपुलेक तथा सुस्तामा भारतीय अतिक्रमण) यी दुवै भ्रमणमा उठाइएनन्।”
पूर्वराजदूतले जनमानसमा चासो र संसद्मै समेत बहसको विषय बनेका यी मुद्दामा बोल्न हिच्किचाएको देखिएको टिप्पणी गर्दै मित्र राष्ट्रहरूबीच यस्ता विषयमा खुला रूपमा कुरा हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
रास्वपा सभापति लामिछाने गत सोमबार भारत गएका थिए। नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरी अयोध्यास्थित भगवान् श्रीराम मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेपछि उनी शुक्रबार स्वदेश फर्किएका हुन्। परराष्ट्रमन्त्री खनाल पनि शुक्रबार नयाँदिल्ली पुगेका थिए। तर दुवै नेताको भ्रमणका क्रममा भारतसँगका सीमा विवादका विषयमा भएको छलफलबारे कुनै सार्वजनिक जानकारी नआएको अवस्थामा पूर्वराजदूत आचार्यले यो टिप्पणी गरेका हुन्।





