६ असार २०८३, शनिबार

सुदूरपश्चिममा एमाले मन्त्री हटाउने ओलीको निर्देशन

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा पार्टीका मन्त्रीहरू हटाउन निर्देशन दिँदै आफ्ना निकटस्थहरूलाई मन्त्री बनाउन लबिङ गरेका छन्। ओलीले दलको नेता राजेन्द्र रावलको इच्छाविपरीत प्रदेश सभा सदस्यहरूलाई मन्त्री बनाउन निर्देशन दिएको बुझिएको छ। हाल रहेका तीन मन्त्री सुरेन्द्र पाल, वीरबहादुर थापा, हिरासिंह सार्की र राज्यमन्त्री निर्मलादेवी सावद रावल निकटका मानिन्छन्। ओलीले सिफारिस गरेका उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र दमन भण्डारीलाई मन्त्री बनाउन खोजेका छन्। पहिले ओलीले रावललाई दलको नेताबाट हटाउन प्रयास गरे पनि उनकै निकटस्थका कारण बैठक डाकेर रावल नेतामा कायम रहेका थिए।

नयाँ व्यवस्थाअनुसार एमालेले भौतिक पूर्वाधार विकासमा सन्तोष शर्मा थापा, आन्तरिक मामिला तथा कानुनमा चक्रबहादुर मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारीमा दमन भण्डारीलाई पठाउने तयारी गरेको छ। यसैगरी, भौतिक पूर्वाधार राज्यमन्त्रीमा जानकी ऐर वम रहने भएकी छन्। उनी प्रदेश इन्चार्ज दामोदर भण्डारीका कारण रावलकै पक्षमा रहेको बताइन्छ।

यता, कांग्रेसले पनि मुख्यमन्त्री कमलबहादुर शाहबाहेक तीन मन्त्री र दुई राज्यमन्त्री परिवर्तन गर्ने निर्णय गरेको छ। तर को मन्त्री बन्ने भन्ने विवादका कारण मन्त्रिपरिषद् पुनर्गठन हुन सकेको छैन। कांग्रेसमा पनि दलको नेताबाट मुख्यमन्त्री शाहलाई हटाउने प्रयास भएको थियो तर शाहलाई राखेर मन्त्री र राज्यमन्त्री परिवर्तन गर्ने सहमति भएको छ। दुवै ठूला दलमा आन्तरिक शक्ति सन्तुलन र गुटबन्दीका कारण मन्त्रिपरिषद् विस्तार र पुनर्गठनमा तनाव कायमै छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button