स्पामा बालिकालाई अनैतिक कार्य गराउने महिला सञ्चालिका पक्राउ

ललितपुरको एक स्पामा बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–२ सानेपा अरुण थापा चोकस्थित ‘शुक्ल स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका–३ की सुमन कुमाल पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार उनले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकको इच्छाअनुसार अनैतिक कार्य गराइरहेको अनुसन्धानका क्रममा खुलेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र बालिकाको उद्धार तथा न्यायका लागि थप अनुसन्धान अघि बढाएको छ।





