७९ लाख खर्चेर बनेको रामप्रसाद राई स्मृति पार्क जीर्ण र अलपत्र

खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा प्रजातान्त्रिक योद्धा तथा क्रान्ति नायक रामप्रसाद राईको शालिकसहित स्थापित पार्क संरक्षण अभावमा सङ्कटमा परेको छ। तत्कालीन प्रदेश १ (हाल कोशी प्रदेश) सरकारको ३० लाख र खोटेहाङ गाउँपालिकाको ४९ लाख गरी कुल ७९ लाख रुपैयाँको लागतमा पार्क निर्माण भएको थियो। तीन वर्षअघि राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक स्थल टुँडीखेललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसाथ पार्क बनाइएको थियो। विसं २०८० फागुन ८ मा तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गरेको सो पार्क सञ्चालनमा आएको तीन वर्ष पूरा नहुँदै अलपत्र बनेको हो।
शालिक, पार्क, प्रतीक्षालय, बगैँचालगायत संरचना फाइबर र फलामे रेलिङले बनेको यो पार्कको घेराबार, बिजुली बत्ती, पानी जम्मा गर्ने हिलटेकजस्ता संरचना भत्किएका छन्। फोहोरका डङ्गुर र झारपातले पार्क कुरूप बनेको छ। स्थानीय नेपाली कांग्रेस नेता तथा पूर्वसांसद विशाल भट्टराईको घर अगाडि रहेको यो पार्कको संरक्षणमा कसैको ध्यान नपुगेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। जिल्ला प्रशासन र प्रहरीको कार्यालय नजिकै रहेको पार्कको तोडफोडमा संलग्न दोषी पहिचान तथा कारबाहीमा ध्यान नजानु शङ्कास्पद बनेको छ।
खोटेहाङ गाउँपालिकाका तत्कालीन प्रमुख प्रदीप राई र उपप्रमुख कविता राईको पालामा आर्थिक वर्ष २०७७/०७८ मा डिपिआर बनाएर निर्माणको थालनी गरिएको यो पार्क पूर्णता पाएको थिएन। वर्तमान प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ र उपप्रमुख रूपेश राईले सो पार्कलाई पूर्णता दिएका थिए। पार्क बनेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएका थिए। तर अहिले त्यही पार्क संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। यसअघि पर्खाल र प्रतीक्षालय जस्ता संरचना निर्माण गरिएको थियो। स्थानीय युवाले फुटबल खेल्ने गरेको यो ऐतिहासिक स्थलमा रामप्रसाद राई पार्क स्थापना गरिएको हो।
राईले बेलायती सेनाको जागिर छोडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालीन राणा सरकारले उनको कमाण्डमा खोटाङबजारमा सेना खटाएको थियो। राणाविरोधी सशस्त्र सङ्घर्षमा पूर्वी नेपालमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर रहेका उनले विसं २००७ मा भोजपुर अड्डा कब्जा गरेको इतिहासमा उल्लेख छ। नेपाल सरकारले विसं २०७५ पुस १५ मा उनको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरिसकेको छ। प्रजातन्त्र स्थापनापछि विसं २००८ मा तत्कालीन अन्तरिम प्रधानमन्त्री मोहनशमशेर राणाको निर्देशनमा पक्राउ परेका राई हालसम्म बेपत्ता छन्।
स्थानीयले पार्कको संरक्षण तथा प्रवर्द्धनमा अपनत्व नदिँदा अलपत्र परेको बताएका छन्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर बस्नेतले पार्क निर्माण एमाले नेता भट्टराईको पहलमा भए पनि संरक्षणमा अहिले कसैको चासो नरहेको बताए। उनले ऐतिहासिक स्थलको विकासका लागि बनेका संरचना भग्नावशेषमा परिणत हुनु दुःखद भन्दै सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए। क्रान्ति नायक राईले उक्त स्थलमा समी, लाकुरी, सिमल र करवीर फूलका बिरुवा रोपेको स्थानीयको भनाइ छ। वर्ष दिनभित्र देशमा उथलपुथल हुने भन्दै राई खोटाङबजारबाट भोजपुरतर्फ गएको स्थानीय पुर्खा सुनाउँछन्। जवानबाट लेफ्टिनेन्ट बनेका राई खोटाङबजारमै रहेको बेला राणा सरकारबाट निष्कासित भएपछि घर भोजपुर फर्केर राणाविरोधी गतिविधि सुरु गरेको इतिहास छ। २०२० सालसम्म जिल्लाको पुरानो सदरमुकाम रहेको खोटाङबजारमा राईको योगदानलाई सम्झाउने यो पार्क अहिले उपेक्षाको सिकार बनेको छ।





