६ असार २०८३, शनिबार

गौतमबुद्ध विमानस्थलबाट काठमाडौँ उड्न लागेका भारतीय नागरिक पक्राउ, साथमा ७.९५ लाख भारु बरामद

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) बाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकको साथबाट रु ७ लाख ९५ हजार भारतीय रुपैयाँ बरामद भएको छ। भारतको आन्ध्र प्रदेशस्थित प्रकाशम जिल्लाका ५९ वर्षीय भिमा श्रीनिवास बुद्ध एयरको उडानमार्फत काठमाडौँ प्रस्थान गर्ने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा हाते सामान जाँच्ने एक्सरे परीक्षणका क्रममा उक्त रकम फेला परेको हो।

प्रहरीका अनुसार श्रीनिवासले साथमा बोकेको खैरो रङको हाते झोलाबाट भारतीय रुपैयाँ ५०० दरका एक हजार ५९० थान नोट बरामद गरिएको छ। बरामद रकमको कुल मूल्य ७ लाख ९५ हजार भारतीय रुपैयाँ रहेको छ। उक्त रकमसहित श्रीनिवासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए। पक्राउ परेका व्यक्ति र नगद थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले बताए।

यसै सन्दर्भमा, भैरहवामा ‘मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानुनी विषयक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ। मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल भैरहवाको आयोजना तथा सक्षम सहारा बहुउद्देश्यीय महिला समूहको समन्वयमा आयोजित सो कार्यक्रममा किशोरी र महिला गरी २८ जनाको सहभागिता थियो। माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गर्दै मानव बेचबिखनबाट कसरी जोगिने, बेचबिखन किन र कसरी गरिन्छ, र कानुनी व्यवस्थाबारे चेतनामूलक जानकारी दिए। महिला समूहकी अध्यक्ष सचिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा समूहका महासचिव लाजिना देवकोटा, शान्ता भण्डारी, तुलसी बस्नेत, मीना सिंह क्षेत्री, खिमकुमारी थापा, कल्पना ज्ञवाली, धरा पन्थी, सिद्धार्थनगर बाल क्लबकी अध्यक्ष तारा बेल्बासेलगायतको उपस्थिति थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button