बाँकेमा हुलाकी सडक विस्तार सुरु, पिछडिएका क्षेत्रलाई विकासको मूलधारमा जोड्ने दाबी

बाँकेको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म हुलाकी सडक विस्तार गर्न थालिएको छ। हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले सो जानकारी दिएको छ। कार्यालय प्रमुख लीलाबहादुर भण्डारीका अनुसार राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने छ र त्यसमा करिब २० वटा पुल निर्माण हुनेछन्। दाङतर्फ २२ किलोमिटर सडक र १७ वटा पुलसहित २९ अर्ब रुपैयाँ स्रोत सुनिश्चित भएको उनले बताए। अधिकांश सडकका लागि टेन्डर प्रक्रिया अघि बढेको र अबको तीन वर्षमा दाङ, बाँके र बर्दियाको काम सम्पन्न हुने उनको दाबी छ।
यो सडक महेन्द्र राजमार्गको वैकल्पिक मार्ग हुनेछ। यसको मूल उद्देश्य जिल्ला सदरमुकामलाई पूर्वदेखि पश्चिमसम्म जोड्नु रहेको छ। सडकले पिछडिएका क्षेत्र र स्थानीय समुदायलाई विकासको मूल धारमा ल्याउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ। सडक विस्तारका लागि करिब १५ किलोमिटर घना जङ्गल पर्नेछ। रुखको अवस्थाबारे जानकारी प्राप्त गरिएको र त्यस क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम सम्पन्न भइसकेको छ। सडकको चौडाइ १२ मिटर र नौ मिटर अस्फाल्ट प्रविधिमा कालोपत्र गरिनेछ। यही असार ३१ गतेसम्म सूचना प्रकाशन गरी असोज महिनाबाट सडकको काम सुरु हुने निर्देशनालयले जनाएको छ।
हुलाकी राजमार्ग यस क्षेत्रको विकासको मेरुदण्ड र पूर्वपश्चिम राजमार्गको विकल्पको रूपमा रहने विश्वास गरिएको छ। समाजसेवी पोषण केसीले गुणस्तरीय सडकको अभावमा वर्षौंदेखि ग्रामीण क्षेत्र विकासमा पछाडि परेको भन्दै सडक बनेमा स्थानीयको जीविकोपार्जनमा ठूलो सहयोग पुग्ने बताए। राप्ती सोनारी गाउँपालिका–१ का अध्यक्ष यमबहादुर खड्काले हुलाकी सडक विस्तारको खबरले स्थानीयमा खुसी छाएको उल्लेख गर्दै सडक बनेपछि ग्रामीण क्षेत्रका कृषि उपजको बजारीकरण, शिक्षा, स्वास्थ्यलगायत सेवामा पहुँच विस्तार हुने बताए। सडकले यस क्षेत्रको आर्थिक र सामाजिक रूपान्तरण हुने अपेक्षा गरिएको छ।





