रास्वपा कैलालीको पहिलो अधिवेशनमा सभापतिका दुई उम्मेदवारले गरे मतदान बहिष्कार

धनगढीमा शनिबार सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको पहिलो अधिवेशनको निर्वाचन प्रक्रियामा सभापतिका दुई उम्मेदवारले बहिष्कार गरेका छन्। धनगढीको ओम प्यालेसमा जारी अधिवेशनमा मतदाता नामावलीमा धाँदली भएको र निर्वाचन समिति नै अवैध रहेको भन्दै सभापतिका उम्मेदवार हरी रेग्मी र महेश चौधरीले बहिष्कार गरेको हो। सभापतिमा रेग्मी, चौधरी र अर्का उम्मेदवार कविन्द्र ठकुल्ला रहेका थिए।
दुवै उम्मेदवारले मतदाता नामावली सच्याउनुपर्ने, निर्वाचन समिति वैधानिक तरिकाले गठन गर्नुपर्ने अन्यथा प्रक्रियामा नसहभागी हुने बताए। अधिवेशन जारी रहे पनि रेग्मी र चौधरी भने बहिष्कार गर्दै अधिवेशन स्थलबाट बाहिरिएका छन्। अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य लक्ष्मण थारु प्रमुख अतिथि रहेका थिए। उद्घाटन समारोहमा कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कमल ज्ञवाली, क्षेत्र नम्बर २ का सांसद किरण (केपी) खनाल, क्षेत्र नम्बर ३ का सांसद जगतप्रसाद जोशी, क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइराला, क्षेत्र नम्बर ५ का सांसद डा. आनन्दकुमार चन्द तथा सांसद करिश्मा कठरियाको उपस्थिति रहेको थियो। निर्वाचन प्रक्रियामा देखिएको विवादका कारण भने अधिवेशन अन्योलग्रस्त बनेको छ।





