६ असार २०८३, शनिबार

काठमाडौंमा रिट्ज–कार्लटन र वेस्टिन होटल सञ्चालन हुने, म्यारियट र चौधरी ग्रुपबीच सम्झौता

म्यारियट इन्टरनेशनल इन्क र चौधरी ग्रुपको हस्पिटालिटी वि.ङ. सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई नयाँ अल्ट्रा लग्जरी तथा प्रिमियम होटलहरू सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यस ऐतिहासिक सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालनमा आउने भएका छन्। यस सहकार्यले म्यारियटको पोर्टफोलियोमा करिब ३०० कोठा थपिनुका साथै यी विश्वप्रसिद्ध ब्रान्डहरू पहिलोपटक नेपालको राजधानीमा भित्रिने भएका छन्। सन् २०३१ सम्ममा यी होटलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट र चौधरी ग्रुपका अध्यक्ष डा. बिनोद चौधरी लगायत दुवै कम्पनीका उच्च अधिकारीको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो। वेस्टिन र रिट्ज–कार्लटन काठमाडौं होटलहरू नेपालका अग्रणी व्यावसायिक घराना चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको संयुक्त साझेदारीमा निर्माण हुनेछन्। यस सम्झौताले दक्षिण एसियामा दुई कम्पनीबीचको बलियो व्यावसायिक सम्बन्धलाई अझ विस्तार गर्ने विश्वास गरिएको छ।

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा स्थापना हुने ‘द रिट्ज–कार्लटन काठमाडौं’ मा ३० सुइटसहित १५० आकर्षक कोठा रहनेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोमिटर दूरीमा रहने यस होटलमा ५ वटा रेस्टुरेन्ट, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र १,१०० वर्गमिटरभन्दा बढीको अत्याधुनिक सभाहल हुनेछ। यसैगरी, विमानस्थलबाट ७ किलोमिटर दूरीमा स्थापना हुने ‘द वेस्टिन काठमाडौं’ मा १५० प्रिमियम कोठा, तीन डाइनिङ स्थल, रूफटप स्विमिङ पुल र वेस्टिन ब्रान्डको विशेष वेलनेस कार्यक्रमहरू उपलब्ध हुनेछन्।

सम्झौतापछि म्यारियट इन्टरनेशनलका एशिया प्रशान्त (चीन बाहेक) का अध्यक्ष राजीव मेनन र सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले यस सहकार्यप्रति खुसी व्यक्त गर्दै यी परियोजनाहरूले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउने, स्थानीयस्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र देशको दीर्घकालीन आर्थिक तथा क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button