एनसेलका ग्राहकका लागि खुसीको खबर: अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको नयाँ साझेदारीअनुसार अब एनसेलका सम्पूर्ण ग्राहकले अल्टिमाका विभिन्न ग्याजेट तथा लाइफस्टाइल सामग्रीहरूको खरिदमा ६० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन्। सम्झौतापत्रमा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्त र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित अग्रवालले हस्ताक्षर गरेका छन्।
यो योजनाअन्तर्गत ग्राहकले साउन्ड बार, स्पिकर, वायरलेस एअर बड्स, स्मार्टवाच र पावर बैंकजस्ता विभिन्न उपयोगी ग्याजेटहरू विशेष छुटमा खरिद गर्न सक्नेछन्। अल्टिमा लाइफस्टाइलले यस योजनाअन्तर्गत खरिद गरिएका सामग्रीहरू नेपालभर डेलिभरी गर्ने व्यवस्था मिलाएको छ। छुट योजनाको लाभ लिन एनसेलका प्रिपेड ग्राहकले रु ९९ वा सोभन्दा माथिको डेटा, भ्वाइस वा कम्बो प्याक सक्रिय गरेको हुनुपर्नेछ भने पोस्टपेड ग्राहकको रेन्टल प्लान सक्रिय भएको हुनुपर्नेछ।
हाल यो योजनामा योग्य नभएका ग्राहकले पनि रु ९९ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गरेर तुरुन्तै यस अफरमा सहभागी हुन सक्नेछन्। ग्राहकले आफ्नो सक्रिय प्याक वा रेन्टल प्लानको अवधिभर यो छुट सुविधा पटक–पटक प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। यो अफर पूर्ण रूपमा एनसेल एपमार्फत सञ्चालन गरिएको छ। छुट पाउन ग्राहकले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोली ‘पार्टनर्स सर्भिसेज’ मा गएर अल्टिमा लाइफस्टाइल रोज्नुपर्छ। प्रयोगकर्ताको नाममा दर्ता रहेको मोबाइल नम्बरका आधारमा प्रणालीले स्वतः योग्यता जाँच गर्नेछ र छुटसहित तिर्नुपर्ने रकम एनसेल एपमै देखिनेछ।
साझेदारीबारे एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्तले आफ्ना ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट दिने योजना ल्याउन पाउँदा उत्साहित भएको बताउँदै अल्टिमा लाइफस्टाइलसँगको यस सहकार्यले ग्राहकको डिजिटल जीवनशैलीलाई थप समृद्ध बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। यो पार्टनरसिपले एनसेलको बढ्दो डिजिटल सेवा इकोसिस्टममा अर्को कोसेढुङ्गा थपेको छ।





