६ असार २०८३, शनिबार

नबिल बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रेमिट्यान्स सेवा सुरु, तत्काल पैसा पठाउन र प्राप्त गर्न सकिने

नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन रेमिट्यान्स सेवा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन्। यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकले अब आफ्नो मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन्। त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्तालाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको छ।

बैंकले यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरेको जनाएको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यसलाई सीमापार भुक्तानी छिटो र सहज बनाउने महत्त्वपूर्ण कदम भएको बताए। यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार तथा ग्राहक सुविधा विस्तारको बैंकको प्रतिबद्धता प्रतिबिम्बित गर्ने उनले उल्लेख गरे। बैंकले सेवा प्रयोगमा नियामकीय व्यवस्था र सहजता दुवैलाई ध्यानमा राखी सीमा तोकेको छ।

नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म पठाउन सक्नेछन्। भारतबाट नेपालतर्फ दैनिक अधिकतम भारु २ लाखसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुने छैन। यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेसको सहकार्यमा सञ्चालन गरिएको हो, जसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्नेछ।

नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा पुर्याउँदै आएको छ। चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङको लागि एनबैंक सञ्चालनमा ल्याएको छ। यो नयाँ रेमिट्यान्स सेवाले नेपाल र भारतबीचको वित्तीय पहुँचलाई थप सहज, छिटो र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button