सदन कार्यसूचीबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा उक्त बैठक रहेको जानकारी दिए।
यसअघि प्रतिनिधिसभा नियमावली २०७९ अनुसार सदन चलिरहेको थियो। जेठ १७ गते विपक्षी दलहरूले घेराबन्दी गरिरहँदा नै प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो। तर नयाँ नियमावलीअनुसार गठन हुने कार्यव्यवस्था परामर्श समिति अहिलेसम्म बन्न सकेको छैन। विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएपछि समिति गठनको प्रक्रिया अगाडि बढ्न सकेको होइन।
विपक्षी दलहरूले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतीय भूमि मिचेको’ भन्दै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री आएर माफी माग्नुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएका छन्। प्रतिनिधिसभा बैठक भोलि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ। सभामुखले बोलाएको प्रमुख सचेतकको बैठकले सदनको अवरोध हटाउने वातावरण बनाउन सक्छ कि भन्नेतर्फ सबको ध्यान केन्द्रित रहेको छ।





