‘विपक्षी पनि सहभागी’ : रविको सर्वदलीय बैठक सुरु, माधव–लिङ्देनदेखि ऐन महरसम्म

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको सभाहलमा बैठक जारी छ। रास्वपाको केन्द्रीय समिति बैठक सकिएलगत्तै यो सर्वदलीय बैठक आयोजना गरिएको हो।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, रास्वपाका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र सांसद दीपक बोहोरा सहभागी छन्।
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, सांसद साहजना खातुन, एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद वर्षमान पुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक खुश्बु ओली तथा जसपा नेपालका राष्ट्रियसभा सदस्य महमुद खालिल पनि बैठकमा सहभागी छन्।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमाथि छलफल भइरहेको जनाइएको छ। विगतमा प्रमुख दल कांग्रेस र एमालेले पहिलो तहको नेतृत्व नपठाउने निर्णय गरे पनि यसपटक भने माधव नेपाललगायत शीर्ष तहका नेताहरू सहभागी भएको देखिन्छ।
रवि लामिछानेले यसअघि गरेको सर्वदलीय बैठकको आह्वानमा प्रतिक्रिया दिँदै कतिपय दलले ‘सेकेण्ड टिम’ पठाउने निर्णय गरेका थिए। तर यसपटकको उपस्थितिले भने अन्तरदलीय संवादको आवश्यकता सबै दलले महसुस गरेको संकेत गरेको छ।





